काठमाडौ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य एवम् शहरी विकासमन्त्री प्रभु साहले महाशिवरात्रि मेला लगाउन किसानले लगाएको गहुँ बालीमा डोजर लगाएका छन् । रौतहट जिल्लाको मौलपुर गाउँमा फागुन २७ गते
महाशिवरात्रिको उपलक्ष्यमा ठूलो मेला लगाउनका लागि करिब पाँच विघामा लगाइएको गहुँ नष्ट गर्न लगाइएको हो । एक स्थानीय पत्रकारका अनुसार मन्त्री साहले मेला लगाउने भन्दै कतिपय किसानलाई शुरुमै बाली लगाउन दिएका थिएनन् । ती
पत्रकारले भने, ‘उनले किसानहरुलाई जमिन खाली राख्न लगाएका थिए र जसले जबर्जस्ती बाली लगाए उसको खेतमा डोजर लगाएका छन् ।’ राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेला उद्घाटन गराउने तयारीमा प्रभु साह लागेका छन् । सो मेलामा
भारतबाट भोजपुरी सिनेमाका कलाकारहरु समेत ल्याउने तयारी भइरहेको स्थानीयहरुले बताएका छन् । ‘नष्ट भएको बालीको मुआब्जा दिने भनिएको छ । तर त्यो मुआब्जाप्रति किसानहरू सन्तुष्ट छैनन्’ त्यहाँका किसानहरु भन्छन्, ‘एक क’ट्ठामा
चारदेखि पाँच मनको हिसाबले उत्पादन हुन्थ्यो तर क’ठ्ठाको पच्चिस रुपैयाँ दिने भनेका छन्, हामीलाई निकै मर्का भएको छ । यत्रो मेहनतका साथ खेती लगाएका थियौं तर एउटा मेला लगाउनका लागि बालीमा डोजर लगाएर हामीमाथि अन्याय
गरियो ।’ स्थानीय किसानहरुका अनुसार मेला लगाउनका लागि अरु पनि जग्गाहरु खाली राखिएको छ । तर त्यहाँ मेला नलगाई खेती लगाइएको ठाउँमा आएर डोजर लगाइएको किसानहरुले गुनासो गरे । एक महिला किसानले भनिन्,
‘मन्त्रीज्यू घरमा आएर भन्नुभयो कि महाशिवरात्रिमा मेला लाग्छ, त्यसमा बाली नलगाउनुहोला, हामीले मन्त्रीले भनेको ठाउँमा बाली लगाएनौँ तर जहाँ बाली लगाएनौँ त्यहाँ मेला नलगाएर यतातिर सरेको छ ।’ -रातोपाटीबाट
प्रकाशित मिति March 2, 2021