no-image

काठमाडौं ।

नेकपा नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपाका दुवै गुटले आफ्ना कदमका विषयमा आफूलाई जानकारी दिएको बताएका छन । राष्ट्रिय सभामा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन र प्रचण्ड-नेपाल समूहले अविश्वासको प्रस्ताव लैजानेबारे आफूलाई जानकारी नगराएको बताए हुन ।

उनले प्रचण्ड-नेपाल समूहबाट कुरा उप्काउँदै भने, ‘पुस ५ गते अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन ।’ उनले अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने काम होला भन्ने सोच्नसमेत नसकेको भन्दै प्रचण्ड-नेपाल समूहसँग तीतो पोखे । यही बीच उनले अविश्वासको प्रस्ताव लैजाने विषयमा उक्त समूहमा लामो समयदेखि कुरा चलिरहेको बताएका छन ।

आफू ९ महिनादेखि आलोचना गर्ने समूहभित्र बसेर आरोप-प्रत्यारोप चल्दा पनि सुधार सम्भव छ भन्ने पक्षमा रहेको बताए । आफूले पार्टी विभाजनको कुनै औचित्य नदेखेको उनले बताएका छन । उनले विभिन्न कारणले आफू पार्टीमा विरोधीजस्तो भएर प्रस्तुत भएको तर सुधार गर्न नसकेको पनि बताए ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले शैली सुधार्न पटक–पटक सुझाएको तर नमानेको उनले बताए । तर, ओलीले पनि प्रतिनिधि सभा विघटन गर्दा आफूलाई नसोधेको गाैतमले बताए । उनले भने, ‘म उहाँको कटु आलोचक हुँ । उहाँको कारणले विवाद उत्पन्न भएका हुन ।

उहाँलाई मैले धेरै पटक सुझाव दिएँ । शैली सुधार्न भनें । कति सुझाव ग्रहण गर्नुभयो । कति गर्नुभएन । प्रतिनिधि सभा विघटन गर्दा तत्कालीन एमालेमा सबैभन्दा धेरै पार्टी सदस्य बनाउने मलाई उहाँले सोध्नुभएन ।’ पार्टी जोगाउनका निम्ति ओलीसँग अवसर भए पनि प्रयोग नगरेको उनको बुझाइ ।

उनले भने, ‘म भएको भए अविश्वास प्रस्ताव दर्ता गर्ने थाहा पाएपछि त्यसअघि नै राजीनामा दिन्थें । मैले मेहनत गरेको पार्टी जोगिन्थ्यो । पार्टी र सरकारको सम्बन्ध मिलाउने र आगामी दिनमा अघि बढ्नेका लागि शिक्षा हुन्थ्यो ।’

प्रकाशित मिति January 9, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस