no-image

काठमाडौ ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले गत हप्ता मन्त्रालयका कर्मचारीलाई संयुक्तरुपमा निर्देशन दिँदै भनेका थिए, ‘काठमाडौंमा वितरण लाइन सुधार्ने नाममा बिजुलीको तार भूमगित (अन्डरग्राउन्डिङ) गरेर ठीक गरिँदैछैन ।

आइतबार गृहनगर सन्धिखर्क पुगेर उनले यो काम ‘खतरनाक’ भएको दोहोर्‍याए । मन्त्री रायमाझीले भने,कति साथीहरु मर्ने हुन्, अहिले कुलमानजीहरुले अन्डरग्राउण्ड बिजुली बनाउँदैछन् । त्यहाँ स्काभेटरले खन्न थाल्यो भने स्काभेटरको मान्छे पनि मर्छ, त्यो धेरै खतरनाक भइराखेको छ । अहिले त्यो अध्ययन भइराखेको छ ।’

काठमाडौंमा प्रधानमन्त्री केपी ओलीले नै उदघाटन गरेको भूमिगत तार बिछ्याउने योजनामाथि टिप्पणी गर्दै मन्त्री रायमाझीले भने,साथीहरुले के कारणले गरे, त्यो १२ अर्बको काम गरिहालेछन् । गरिसकेपछि अहिले त्यो खतरनाक भइराखेको छ । अस्ति महाराजगञ्जमा अण्डरग्राउण्डको शट भयो ।

अहिले बन्द गराएर माथिबाट ल्याइयो । अहिले तलको बन्द गरियो । झन् खतरा भो । अब यस्तो गर्दिया छ साथीहरुले ।’ विदेशमा चाहिँ खानेपानी बिजुली, इन्टरनेट, टेलिफोन, ढलजस्ता सडकमुनिका पूर्वाधार एउटै सुरुङमा राख्ने र बिगि्रएको संकेत पाएपछि गाडी गएर मर्मत गर्नेखालको करिडोर बनाउने गरिएको रायमाझीले बताए ।

गत फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शहरहरुलाई सुन्दर र व्यवस्थित बनाउन सुरु गरिएको उद्घोष गर्दै तार भूमिगत गर्ने परियोजना उद्घाटन गरेका थिए । प्राधिकरणले एसियाली विकास बैंक एडीबीको ऋण लगानीमा काठमाडौं जिल्लाको शहरी क्षेत्रभित्र तार भूमिगत गरिरहेकोे छ ।

ललितपुर भक्तपुरका शहरी क्षेत्रका लागि टेन्डर अह्वान भएर ठेकदार परिचालन हुन मात्रै बाँकी छ । पोखराको लेकसाइड र भरतपुरको नारायणगढ क्षेत्रमा पनि काम थाल्न टेन्डर गर्ने तयारी हुँदैछ । अरु विभिन्न १७ वटा शहरमा यसका लागि अध्ययन चल्दैछ । यही बेला नयाँ ऊर्जामन्त्री रायमाझीले यो परियोजनालाई अघि नबढाउने संकेत दिएका छन् ।

हितेन्द्र पनि रायमाझीकै लाइनमा

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री रायमाझीले नै तार भूमिगत गर्ने काम खतरनाक भनेपछि प्राधिकरणको वर्तमान नेतृत्व समेत त्यसमा सही थाप्दैछ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य मन्त्री रायमाझीले भनेजस्तै तार भूमिगत गर्दा शहरमा जोखिम बढ्ने बताउँछन् ।

शाक्यका अनुसार यदि भविष्यमा कुनै कामका लागि पर्याप्त सूचना नलिई सडक खनियो भने त्यसले मान्छेको ज्यानै लिने वा अन्य विद्युतीय दुर्घटना हुने जोखिम देखिएको उनको भनाइ छ ।केही दिनअघि हामीले नै काम गर्दागर्दै चपली क्षेत्रमा पुरानो भूमिगत लाइन जल्न पुग्यो,उनले भने,त्यो घटनाले तार भूमिगत गर्दा जोखिम छ भन्ने देखाएको छ ।

तार बिछ्याउनुअघि गरिने जीपीएस एक्स-रेले जमिनभित्रका पानीका पाइप, ढल, टेलिफोनका तार भए/नभएको देखाउने प्राधिकरणको भनाइ छ । तर, चपलीमा त्यस्तो प्रविधिले नै काम नगरेको पाइएकाले दुर्घटनाको जोखिम रहने पुष्टि भएको शाक्यको तर्क छ ।सँधै प्रविधिले सही ढंगले काम गर्दैन, त्यस्तोबेलामा दुर्घटना टार्न सकिँदैन,’ शाक्य भन्छन् ।

तार भूमिगत गर्न आधुनिक प्रविधि प्रयोग गरिए पनि भविष्यमा निर्माणका सडकमा काम गर्दा प्रविधिले सडकमुनिका पूर्वाधारबारे पर्याप्त सूचनाहरु दिन नसक्ने जोखिम देखिएको शाक्यको भनाइ छ । ‘यस्तो जोखिम सडक खन्दा मात्रै हुने हो, तारकै कारण सडकमाथि हिँड्ने मानिस र सवारी साधनलाई जोखिम भने हुँदैन,’ उनले भने, ‘तारबारे पर्याप्त सूचना नलिई खन्ने काम भयो भने दुर्घटनाको जोखिम छ ।’

त्यसका लागि प्राधिकरणले पनि तार बिछ्याइएको रुटबारे पर्याप्त र स्पष्ट अभिलेख र सूचनाहरु राख्नुपर्ने देखिएको शाक्यले बताए । ती सूचना सम्बन्धित नगरपालिका, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, सडक विभाग, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायकहरुलाई पनि दिनुपर्ने शाक्य बताउँछन् ।काम अघि बढिसकेका बाहेकका क्षेत्रमा अब तार भूमिगत गर्ने काममा सुरक्षाको पक्षलाई ध्यान दिएर मात्रै परियोजनाबारे निर्णय गरिने शाक्यले बताए ।

प्रकाशित मिति January 5, 2021

हामीलाई फेशबुकमा लाइक गर्नुहोस