no-image

काठमाडौं ।

कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध साझा धारणा बनाउन र आन्दोलनका कार्यक्रम तय गर्न नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरू प्रवेश गरेका छन् ।

नेकपा विवाद चर्किएका बेला ओलीसँग छलफल गर्न दिनहुँजसो बालुवाटार प्रवेश गरिराख्ने प्रचण्डले अब कांग्रेस पार्टी कार्यालय प्रवेश गर्नुपर्ने अवस्था आएको छ । कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक शुरू भएको छ । कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षधर नेताहरू सहभागी छन् ।

जनता समाजवादी पार्टीका नेताहरू पनि बैठकमा सहभागी छन् । आइतवार पनि ३ दलका नेताहरूबीच छलफल भएको थियो । सोमवारको बैठकले संसद विघटनविरुद्ध साझा धारणा बनाएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने जसपाका नेता डा. बाबुराम भट्टराईले जानकारी दिए ।

ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी २०७८ बैशाखमा आमनिर्वाचन गर्ने घोषणा गरेका थियो । संसद विघटन गर्ने सरकारको सिफारिस राष्ट्रपति विद्या भण्डारीले स्वीकृत गरिसकेकी छन् ।

संसद विघटनलाई असंवैधानिक कदम ठहर गर्दै ३ दलले यसविरुद्ध राजनीतिक प्रदर्शन र कानुनी उपचार खोज्ने तयारीमा छन् । सर्वदलीय बैठकअघि बसेको प्रचण्ड–नेपाल समूहका सांसदको बैठकले संसदको अधिवेशन आह्वान गर्न आग्रह गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने सोमबार देशसासीको नाममा सम्बोधन गर्दै आफ्ना एजेण्डा लिएर जनतामा जान प्रतिपक्षी दललाई आग्रह गरेका छन् । मिडिया डबली बाट साभार

प्रकाशित मिति December 25, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस