no-image

काठमाडौं ।

पार्टीमा अप्ठ्यारोमा परेपछि अनेक विषयलाई चर्चामा ल्याउने र नेताहरुलाई पदको आश्वासन दिने प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानै बानी हो । पछिल्लोपटक उनले गृहमन्त्री रामबहादुर थापा बादललाई पनि पदकै आश्वासन दिएर आफ्नो शैलीको पुनरावृत गरेका छन । जानकार नेताहरुको अनुसार ओलीले बादललाई चुनावी प्रधानमन्त्रीको आश्वासन दिएका छन ।

ओली अहिले पार्टीभित्र रक्षात्मक अवस्थामा छन । उनीविरुद्ध सचिवालयका बहुमत सदस्यहरु उभिएका छन । पार्टी कमिटीका बैठकहरु उनको सहमति विपरीत नै बस्न थालेका छन । यस्तो अवस्थामा उनले बादलको साथ पनि खोजेका छन । पार्टीभित्र ओलीको अप्ठ्यारो दैनिक बढ्दै गएको अवस्थामा थापालाई आफ्नो पक्षमा ल्याउन ओलीले चुनावी प्रधानमन्त्रीको तयारी गर्न

आग्रह गरेको ओली निकट एक प्रभावशाली स्थायी कमिटी सदस्यले बताए। उनका अनुसार बादलले आफूलाई तयारी राख्ने प्रयत्न पनि गरिरहेका छन । ओलिले बादललाई दिएको आश्वासनबारे अन्य कतिपय नेताले पनि जानकारी पाइसकेका छन्। प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले आश्वासन दिने र पाउने दुवैलाई हेर्दा विषय स्वभाविक भएको बताए ।

ओलीले नेताहरुलाई आफू नजिक ल्याउन धेरै पासा फाल्ने गरेको र बादललाई दिएको आश्वासनलाई पनि त्यही रुपमा लिनुपर्ने उनले बताए । ‘केपी कमरेडले वामदेव कमरेडलाई पनि चुनावी प्रधानमन्त्री हुनुस्, तयारी गर्नुस् भन्नु भएकै हो । माधव कमरेड र प्रचण्ड कमरेडलाई पनि भन्नुभएकै होला’, उनले भने, ‘बादल कमरेडलाई पनि भन्न सक्नुहुन्छ ।

उहाँको कामै अप्ठ्यारो पर्दा पद बाँड्ने त देखियो नि । अरु के काम छ र ? ’ओलीले पार्टीलाई विधि र पद्धतिमा चलाउनेभन्दा आफू अनुकूल काम गर्न पद बाँड्दै हिँड्ने गरेको उनले आरोप लगाए । अध्यादेश प्रकरणपछि गत वैशाख १७ मा बसेको सचिवालय बैठकमा ओलीले वामदेव गौतमलाई

प्रधानमन्त्रीको आश्वासन दिएका थिए । उनले कोरोनापछि गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नै गरेका थिए । सो प्रस्तावपछि सचिवालयको समीकरण नै बदलिएको थियो । ओलीको आश्वासन पाएपछि गौतमले उत्साहित भएका थिए । उनले त्यतिबेला कानुनविद्सँग परामर्श समेत गरेका थिए ।

तर सँगसँगै ओलीले राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने पार्टीको निर्णय नै लागू गरिरहेका थिएनन । पछि गौतमले ओलीको आश्वासन वास्तविकतामा नबलिने बुझेका थिए । सोही बैठकमा ओलीले माधव नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउन प्रस्ताव पनि गरेका थिए । तर नेता नेपालले ओलीको प्रस्तावलाई तत्कालै अस्वीकार गरेका थिए ।

सरकार गठन भएदेखि नै ओली र बादलको निकटता बढ्दै गएको छ । पार्टी विवादका सन्दर्भमा बादल मौन बस्ने वा ओलीको पक्षमा उभिने गरेका छन । ओलीले उनको पदीय निरन्तरताको आश्वासन दिएकाले उनी ओली पक्षको नेता भइसकेको पनि बताइन्छ। अर्कोतिर, पछिल्लो विवादपछि ओलीले पार्टी नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने बताउँदै आएका छन ।

उनले यतिञ्जेल आफूलाई साथ दिएका बादललाई ओलीले चुनावी सरकारको आश्वासन दिएका हुनसक्ने आकलन गरिएको छ । बादल यसअघिका पार्टी विवादमा मझधारमा रहँदै आएका थिए। तर उनले ओलीलाई साथ दिएमा मझधारमै रहेका अन्य नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र मणि थापा लगायतले पनि उनैलाई नेतृत्व मानेर ओलीलाई साथ दिने अवस्था बन्छ ।

जसले गर्दा पार्टी समीकरणमा ठूलो फेरबदल आउँछ । यो कुरा बुझेका ओलीले बादललाई चुनावी प्रधानमन्त्रीको आश्वासन दिएर आफू पक्षमा खुलेरै उभ्याउने प्रयास गरेको हुनसक्छ । त्यसो त निस्क्रिय नेताको छवि बनाएका बादललको सक्रियताले पनि केही संकेत गर्छ । सक्रियताको कारण उनले पाएको आश्वासन नै रहेको नेताहरुको अनुमान छ ।

आफ्नो पक्षमा माहोलको सुरुवात गर्न र पार्टी विवादमा ओलीको पक्षमा परिस्थिति निर्माण गर्न बादलको सक्रियता बढेको छ । आइतबार स्थायी कमिटी बैठकअघि गौतम र बादलबीच भेट भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले बताए। गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका थिए ।

बादलले गौतमलाई ओलीको पक्षमा उभिनुपर्ने प्रस्ताव राखेको भेटबारे जानकार गौतम निकट एक केन्द्रीय सदस्यले बताए। जसलाई गौतमले अस्वीकार गरेका थिए । ‘गौतम र बादलबीच करिब आधा घण्टा जति छलफल भयो । बादलले ओलीलाई साथ दिन आग्रह गर्नुभएछ’

उनले भने, ‘त्यस छलफलमा वामदेवले बादलले नै त्यस्तो कुरा गर्न नसुहाउने बताउनुभए छ । उहाँले जस्तोसुकै परिस्थिति आए पनि यसपटक केपीलाई साथ दिन नसकिने स्पष्ट पार्नुभएछ । आफ्ना गुटमा रहेका पूर्वमाओवादीका नेताहरुसँग पनि बादलले प्रष्ट र सांकेतिक कुराकानी गरेको बताइएको छ ।

तर गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले प्रधानमन्त्री ओलीले चुनावी प्रधानमन्त्रीको आश्वासन नदिएको दाबी गरे। ‘बादल कमरेडलाई केपी कमरेडले चुनावी प्रधानमन्त्रीको आवश्वासन दिनु भएको छैन। उहाँले वामदेव कमरेडलाई पनि भेट्नु भएको छैन’, उनले भने, ‘दुवै कुरा गलत हुन । त्यसमा कुनै सत्यता छैन ।

अन्तिममा खुल्छन् बादल

पार्टी विवादमा बादल खासै बोल्दैनन्। उनको यो शैली तत्कालीन माओवादीदेखि नेकपासम्म निरन्तर छ। तत्कालीन माओवादीको २०६५ सालको खरिपाटी भेला होस् या मोहन वैद्यले २०६९ पार्टी विभाजन गर्दा होस्, उनी सुरुवातमा खुलेका थिएनन्। अन्तिममा मात्रै आफ्नो कित्ता क्लियर गरेका थिए।

वैद्यले पार्टी पार्टी विभाजन गर्नुभन्दा अघिल्लो दिनसम्म बादल प्रचण्डसँगै थिए । अन्तिममा प्रचण्डलाई छोडेर वैद्यलाई साथ दिएका थिए । दोस्रो संविधान सभा निर्वाचनमा बादलले ह्याम्मरले मतपेटिकामा प्रहार गरेर सशक्त रुपमा बहिस्कार गरेका थिए। तर त्यसको दुई वर्ष पुग्दा नपुग्दै २०७३ सालमा प्रचण्ड नेतृत्वको माओवादी फर्किए ।

पार्टीमा दुई लाइन संघर्ष हुँदा चुपचाप बस्ने बादल नेकपामा देखिएको ओली-प्रचण्ड विवादमा पनि बीच धारमै देखिँदै आएका छन्। ओली नेतृत्वको सरकारमा गृहमन्त्री भएकाले आफूले साथ दिन नसकेको भन्दै प्रचण्डलाई थामथुप पारेका छन्। उता ओलीलाई अप्ठ्यारो पर्न थालेपछि पछिल्लो समय थापाले गुट बलियो बनाउन भेटघाटलाई तिव्रता पनि दिइरहेका छन । ZKkhabar डट com बाट

प्रकाशित मिति December 7, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस