no-image

कमरेडहरूलाई यस सचिवालय बैठकमा स्वागत गर्दछु ।

हामी एउटा गम्भीर र जटिल मोडमा उभिएका छौं। यो अत्यन्तै छर्लंङ्ग छ र छर्लंङ्ग हुँदै गएको छ। यो निकै जटिल छ। अझ बढी जटिलतम् बन्दै गएको छ।

यस स्थितिमा मैले अध्यक्ष हुनुको नाताले र प्रथम अध्यक्ष हुनुको नाताले मैले पार्टीको एकता जोगाउने, पार्टी एकीकरणका कामहरूलाई सम्पन्न गर्ने, केन्द्रीय कमिटीको दोस्रो बैठकले निर्धारण गरेको समयभित्र महाधिवेशन आयोजना गर्ने, बाँकी कामलाई अगाडि बढाउन आफूलाई केन्द्रीत गर्दै त्यसैलाई सफल बनाउन लागिपरेको छु।

र, म हरतरहले त्यही कर्तव्य पूरा गर्ने प्रयासमा लाग्नु आफ्नो जिम्मेवारी हो भन्ने ठानेको छु।

प्रधानमन्त्रीको हैसियतमा मैले देशप्रति, जनताप्रति आफ्नो कर्तव्य, देशको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हितहरूको रक्षा र स्वाभिमानलाई माथि उठाउने कामहरू सँगसँगै देशमा सुशासन र विकासको काममा जोड गरेको छु।

सुशासन र विकासमार्फत समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने काममा मैले आफूलाई केन्द्रित गरेको छु र गर्नुपर्छ भन्ने ठानेको छु ।

देशमा स्थिरता र स्थायित्व आवश्यक छ। हामीले सङ्घर्ष गरेर ल्याएको, बलिदान गरेर ल्याएको, हजारौं नेपालीको जीवन बलिदानबाट प्राप्त गरेको र लाखौको योगदानबाट प्राप्त यस प्रणालीको सुरक्षा, सुदृढीकरण र सफल कार्यान्वयनद्धारा अगाडि बढ्ने/बढाउने कुरामा मेरो ध्यान केन्द्रित छ ।

पार्टी अध्यक्षको हैसियतले पार्टीलाई एकताबद्ध र सुदृढ गर्दै पार्टीका कामहरू व्यवस्थित गरी अगाडि बढाउने र नेपालको वामपन्थी आन्दोलन, प्रगतिशील आन्दोलन, अग्रगामी आन्दोलनको सफलता र साख गिर्न नदिने कुरामा पनि मैले आफूलाई केन्द्रित गरेको छु।

तर, मैले दुःखका साथ भन्नु पर्छ, मेरो टिमबाट र टिमभन्दा बढी शीर्ष स्थानहरूबाट यी कामहरू गर्न प्रधानमन्त्रीको हैसियतमा र पार्टी अध्यक्षको हैसियतमा मैले केकति सहयोग प्राप्त गरेको छु ? जगजाहेर नै छ । मैले यसमा केही भनिरहनु पर्लाजस्तो लाग्दैन।

कात्तिक २८ गते ‘प्रस्ताव’ को नाममा मलाई समेत दिइएको र वितरण गरिएको जुन अत्यन्तै दुश्मनीपूर्ण लिखत छ, त्यो पढेर म आश्चर्यचकित भएको छु। दुःखित पनि भएको छु । त्यस लिखतको सम्बन्धमा म त्यसै भाषामा, त्यसै शैलीमा त्यसैगरी मैदानमा उत्रिन त नसकुलाँ, म त्यसो गर्न चाहन्नँ नै।

त्यसमा धेरै शीर्ष नेताहरूको बुद्धि, सीप, अनुभव मिसिएको छ भन्ने अस्ति ३ गते कमरेड प्रचण्डले राख्नु भएपछि मलाई थाहा भयो।

‘मेरो मात्रै होइन, अरु साथीहरूका पनि अनुभवहरू, बुद्धिहरू र हर्कतहरू यसमा मिसिएका छन्, यो एकल होइन’ भनेपछि त्यो जानकारी प्राप्त भयो।

प्रकाशित मिति December 3, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस