no-image

स्याङजा ।

स्याङ्जामा कार्यरत प्रहरीहरुको घर परिवारसँग मायालाई अझ गाढा बनाउन प्रहरी प्रमुख होबिन्द्र बोगटीले नौलो अभियान सुरु गरेका छन् ।

एसपी बोगटीले ल्याएको नौलो अभियानमा प्रत्येक दिन सुत्ने बेलामा घर परिवारसँग कम्तीमा एक मिनेट फोनमा बोल्नै पर्ने र बोल्ने क्रममा ‘आइ लभ यू बुढी वा छोराछोरी’ भन्नै पर्ने छ । परिवारसँग हुनेले पनि साँझमा एकपटक यस्तो भन्नै पर्ने अभियान चलाइएको उनले बताए ।

यसो गर्नाले कम्तीमा दिनभरको थकाइमा केही राहत हुने र घर परिवारसँगकाने सम्बन्ध पनि गाढा बन्दै जाने एसपी बोगटीको विश्वास छ । प्रहरी कर्मचारीले श्रीमतीलाई ‘आइ लभ यू’ भन्छन्/भन्दैनन् भनी जाँचबुझ गर्न प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीलाई फोकल पर्सन नै तोकिएको छ ।

उनले हरेक प्रहरीका श्रीमती र छोराछोरीको नम्बर राखेका छन्।उनले दिनहुँ ‘फलोअप’ गरिरहेका हुन्छन्। भने-नभनेको, कार्यालयबाट बिदा लिएर घर पुगे नपुगेको, घरमा पुगेपछि कस्तो वातावरण भयो लगायत अनेकथरी गतिविधिबारे अधिकारीले घरमा सोध्छन ।

‘एक त यो चाहिँ मेरो ड्युटी नै हो भन्ने पनि परेको छ, अर्को परिवारमा नयाँ खालको उत्साह पनि आएको छ,’ बोगटी भन्छन्। सुरू-सुरूमा श्रीमानले ‘आइ लभ यू’ भन्दा श्रीमतीहरूले जिस्क्याएको जस्तो ठानेछन्। पछिपछि चाहिँ श्रीमानले माया गर्न थाल्यो भनेर खुसी हुन थालेको बोगटीले बताए ।

भाडामा बसेको छ भने भाडा तिरे नतिरेको, छोराछोरीको स्कुलको फी बुझाए-नबुझाएको लगायत परिवारप्रति जिम्मेवारी निभाए-ननिभाएको फलो गर्छौं,’ बोगटीले भने, ‘यो अभियानपछि प्रहरी कर्मचारी परिवारसाथै कार्यालयमा तनावरहित ढंगले काम गरेको पाएँ ।’

कार्यालयमा उनले फ्री वाइफाइ राखेका छन । प्रहरी कर्मचारी हरूले घरमा सधैं मेसेन्जर, भाइबर, इमो, ह्वाट्स एप लगायतबाट सम्पर्क गरिरहेका हुन्छन । दिनहुँ घर टाढा छ भने पनि श्रीमान् मसँग नजिक छ भन्ने श्रीमतीले पनि अनुभूति गर्न पाइन्,’ बोगटीले भने ।

समाजमा अनेक विकृति छन । श्रीमानको माया नपाएपछि बिरक्तिएर श्रीमतीले घरबार लथालिंग पारेका घटना पनि छन । श्रीमानले माया गर्न छोड्दा श्रीमतीले अर्कैको माया पाउने र त्यसले परिवारमा झन् समस्या पैदा गर्ने हुन्छ,’ बोगटीले भने। स्याङ्जामा पाँच सय जना प्रहरी छन ।

यी सबै प्रहरीको दैनिक गतिविधि नियाल्न डिएसपी अधिकारीलाई धौ-धौ नै परिरहेको बोगटीले बताए । प्रहरीमा बिदा नपाएको, घर जान नपाएको गुनासो व्याप्त छन । तिनले पनि कार्यसम्पादनमा असर गरिरहेको बोगटीले बताए । अहिलेका

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले बिदाको सन्दर्भलाई लिएर आउने गुनासो सम्बोधन गर्न निर्देशन नै दिएका छन । आइजीसाबको कार्ययोजना र प्राथमिकतामा बिदा पनि छ, त्यसैले मैले बिदालाई आलोपालो माध्यमद्वारा व्यवस्थापन गरी प्रहरीमा तनावको वातावरण हटाउने प्रयन्त गरेको छु, बोगटीले भने । गण्डक न्युज बाट

प्रकाशित मिति December 2, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस