no-image

जनकपुरधाम

यातायात व्यवस्था कार्यालय जनकपुरमा रहेको स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) कर्मचारीले बिचौलियासँग सेटिङ्ग मिलाएर धान खेतमा पु¥याएको रहस्य सार्वजनिक भएको छ ।

यातायात व्यवस्था विभागबाट जारी गरिएको स्मार्ट लाइसेन्स कार्यालय नजिककैको धान खेतमा भेटिएपछि कर्मचारीको गोरख धन्दाको पर्दाफास भएको हो ।

धान काट्न खेत पुगेका स्थानीयले खेतमा लाइसेन्स फेला पारेका थिए । उनीहरुले लाइसेन्स संकलन गरेर कार्यालयलाई जिम्मा लगाएका छन् ।

जनकपुरको यातायात कार्यालय दलालको कब्जामा छ । प्रदेश सरकार मातहतमा रहेको कार्यालयमा सरुवा भएर आउने कर्मचारीले नेतालाई रकम बुझाएर आउने गर्छ ।

बिचौलीसँग कर्मचारीले सेटिङ मिलाएर एउटा लाइसेन्स कम्तिमा २० हजार रुपैयाँ लिएर बिक्री गर्ने गरेका छन् ।

‘कर्मचारीको स्वाःर्थका कारण सेवाग्राहीको लाइसेन्स धान खेतमा पुग्यो,’ श्रोतले भन्यो,‘ यातायात विभागले स्मार्ट लाइसेन्स प्रिन्ट गरेर पठाउँछ ।

तर, कार्यालय पुग्ने सेवाग्राहीको हातमा त्यो लाइसेन्स बर्सौंसम्म पुग्दैंन ।’ कर्मचारीले बिचौलियासँग मिलेर लाइसेन्स लुकाएर दाम कमाउने गरेको श्रोतले बतायो ।

कमिसन खान पल्केका कर्मचारीले कार्यालयमा विचौलीयालाई सिधा प्रवेश गराउने गरेका छन् । ‘जनकपुरको यातायात कार्यालय विचौलियाले चलाउँछन्,’ एक कर्मचारीले भने,‘कर्मचारीले नै बिचौलिया परिचालन गरेको छ ।

कर्मचारीले सेवाग्राहीलाई लाइसेन्स दिदैंन । बिचौलिया मार्फत लुकाएर राख्छन् । बाध्य भएर सेवाग्राही दलालको सहारामा पुग्छन् । अनि दलालले सेवाग्रहीसंग रकम लिएर लाइसेन्स जस्ता सेवा दिएर आफ्नै कोठाबाट यातायात कार्यालय संचालन गर्छ ।’

दिनभरी उठेको कमिसन साँझ भएपछि कर्मचारी र बिचौलिया मिलेर बाँड्छन् ।‘बैमान कर्मचारीको हर्ककै परिणाम हो कार्यालयमा हुनु पर्ने लाइसेन्स धान खेतमा भेटिनु,’ उनले भने ।

धान खेतमा लाइसेन्स भेटिएपछि घटना छानविनका लागि भौतिक पूर्वाधार मन्त्रालय प्रदेश-२ ले टोली गठन गर्न लागेको छ ।

‘धान खेतमा लाइसेन्स भेटिनु चिन्ताको बिषय हो,’भौतिक पूर्वधार विकास मन्त्री जितेन्द्र सोनलले अन्नपूर्ण पोस्ट्संग भने,‘जति सुकै ठूलो मान्छे यसमा सहभागि भएपनि कारवाही गछौं ।’

यातायात कार्यालय जनकपुर बिचौलियाले चलाइरहेको छ नि ? अन्नपूर्णको प्रश्नमा मन्त्री सोनलले भने,‘ पहिला छानविन त गर्नु दिनुस् । कार्यालयमा हुने अनियमिततामाथि मन्त्रालयले नजर राखेको छ ।

कर्मचारीको गैर जिम्मेवारीले कार्यालयमा भद्रगोलताको स्थिती सिर्जना भयो । अनियमितता गर्ने कर्मचारीलाई छानविन गरेर कारवाही गर्छौं । कार्यालयलाई चुस्तदुरुत बनाउँछौं ।’

प्रकाशित मिति October 30, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस