no-image

काठमाडौ ।

मेरो घर रामेछाप हो । अहिले परिवारसित भक्तपुरको सूर्यविनायकमा बस्छु । ट्याक्सी चलाउन थालेको पाँच वर्ष भयो । यसअघि काठमाडौँ, सुन्धारा बस्ने गरेको थिएँ । काठमाडौँमा

बसेको बेला फुटपाथमा कपडा बेच्ने काम गर्थें । तीन वर्षजति त्यो काम गरेँ। चितवन, पाल्पा, गुल्मी, स्याङ्जा, हेटौंडा गएर पनि कपडा बेच्ने काम गरे ।

फुटपाथमा पसल थाप्दा नगरपालिकाका कर्मचारीले धेरै दुःख दिन्थे। लखेट्ने गर्थे । सामान लिएर भाग्नुपर्ने हुन्थ्यो। त्यही भएर यो कामले जीवन चलाउन सकिएलाजस्तो लागेन ।

त्यसपछि दुई वर्ष थांका लेख्ने काम गरें। थांका लेख्ने काम पनि आफूलाई फाप्लाजस्तो लागेन । विदेश जाऊँ कि भन्ने लाग्यो । अस्ट्रेलिया जान अप्लाई गरेँ । अस्ट्रेलिया पठाउने अफिसले पनि आजभोलि भन्दै चार महिना झुलायो ।

दुई लाख रुपैयाँ त्यसै डुब्यो । त्यसपछि सोचेँ, अस्ट्रेलिया जान १४–१५ लाख रुपैयाँ लाग्छ । त्यसको सट्टा बरु यहीँ पाँचछ लाख रुपैयाँ लगानी गरेर केही गर्छु भन्न लाग्यो । त्यसपछि ड्राइभिङ सिकेँ ।

त्यतिबेला घरमा बोलेरो गाडी थियो। त्यही चलाएँ। पछि ऋण गरेर ट्याक्सी किनेँ । अहिले त्यही ट्याक्सी चलाउँदै छु। सहचालक भएर काम गरिएन। सीधै चालक भइयो ।

पहिला काठमाडौँमा ट्याक्सी चलाएँ । अहिले भक्तपुरमा चलाउँछु । यहाँ पनि प्राइभेट गाडीले प्यासेन्जर उठाइदिन्छन । गाह्रो छ गरिखान । कोठा भाडा, बच्चाको स्कुलको फिस तिर्न हम्मेहम्मे पर्छ ।

पैसा नदिने, मिटरमा जान नमान्ने, मोलमोलाइ गर्ने प्यासेन्जरले साह्रै दुःख दिन्छन । बाटोघाटोको समस्या नि त्यस्तै छ । मेन रोड चाहिँ राम्रो छ ।

भित्रभित्र त पहिलाको जस्तै खाल्डाखुल्डी छन । महिनाको २५ दिनजति काम गरिन्छ । बाँकी समय परिवारसँग बिताउँछु । खान–लाउन काम गर्नु परिहाल्यो ।

विदेशमा गए पनि धेरै कमाए ५०–६० हजार रुपैयाँ कमाइने हो । यहाँ पनि महिनाको ३०–४० हजारजति त कमाइन्छ मज्जाले । विदेश नगएर ठीकै गरेछु भन्ने लाग्छ अहिले ।

प्रकाशित मिति October 26, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस