no-image

जाजरकोट

गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

१८ वर्षीय कृष्ण बेलाबेलामा झस्किने गर्छन् । परिवारै गुमाउनु पर्दाको पीडा त छँदैछ । भावी जीवन कसरी बिताउने चिन्ताछ छन् उनी । दुःखजिलो गरेर जेनतेन रमाइरहेको थियो सार्की परिवार तर गत असार २५ गते मध्यरातमा आएको पहिरोले उनीहरुको सबै खुसी खोस्यो ।

परिवारका चार सदस्य चुडेर लग्यो । आफन्तको घर गएर बाँचेका कृष्णबहादुर कसरी जीन्दगीको नयाँ अध्याय थालनी गर्ने भन्ने अझै टुङ्गोमा पुगिसकेका छैनन् ।

बस्ने घर र खाने गास खोसिएपछि उनी छिमेकी काकीको घरमा शरण लिएर बसेका छन् ।

हुनेखानेका घरमा दसैं आएपनि उनलाई दसैंको कुनै रौनक छैन । पेटभर खान पाएका छैनन् । घरगृहस्ति कसरी चलाउने भन्ने चिन्तामा छन् ।

आर्थिक अवस्था निकै कमजोर भएका उनलाई दसैंले गिज्याइरहेको अनुभुति हुने गरेको छ । ‘पेटभरी खान पाए हाम्रो लागि त्यही दसैं हुन्थ्यो,’ उनले भने ।

‘दिनमा घामले पोल्छ । रातमा चिसोले सताउँछ । खाने अन्न छैन । भएको घर पहिरोले बगाएर लग्यो । विकल्प केही नभएपछि यही त्रिपालमुनी गुजरा चलाइरहेका छौं, जिल्लाको बारेकोट गाँउपालिका ४ गोठगाँउ तलगाँउकी गोरी नेपालीले यी पिडा सुनाइ रहँदा उनको गला अवरुद्ध भयो, आँखा रसाए ।

गत असार २५ को मध्यरातमा आएको पहिरोले घर बगाएपछि उनको ६ जनाको परिवार विस्थापित भएर नजिकैको जंगलमा त्रिपाल टाँगेर बसेको छ । गाँउपालिका र अन्य संघसंस्थाले राहत स्वरुप दिएको केही खाद्यान्नले केही समय जेनतेन चल्यो ।

भएको पाखोबारी सवै पहिरोले लग्यो । ‘घरमा कमाइ गर्ने कोही छैन। अब के खाएर बाँच्ने हो । पेटभरी खान पाएका छैनौं, हामी त साह्रै समस्यामा पर्‍यौं हजुर गोरीले भनिन्, ‘पहिले घरभएको ठाँउ फर्कन सक्ने अवस्था छैन । कहिलेसम्म यसरी त्रिपालमै बस्नुपर्ने हो कुनै टुङ्गो छैन ।’

उनीजस्तै १४ दलित परिवार अहिले पनि विस्थापित जीवन विताइरहेका छन् । पहिरोले केही घर बगाएको र केही बस्नै नमिल्ने गरी चर्किएपछि उनीहरु त्रिपालको साहारा लिन बाध्य भएका हुन् ।

केही समय विद्यालयमा बसेका उनीहरु अहिले जंगलमा बसेका छन् । विद्यालयमा पढाइ सुरु हुन थालेपछि जंगलमा त्रिपाल टाँगेर बस्न थालेका हुन् । विस्तारै चिसो बढ्दै छ । चिसोले केटाकेटी विरामी पर्न थालेका छन् । दसैं दैलोमै आइसक्यो ।

यसपाली उनीहरुको दसैं त्रिपालमुनी नै वित्ने भएको छ । ‘त्यही त्रिपालमै जमारा राखेका छौं,’ विस्थापित नैनबहादुर नेपालीले भने, ‘मिठो मसिनो खाने, नयाँ लुगा लगाउने र घरमै बसेर टीकाटालो गरेर दसैं मनाउने त सपना भइसक्यो । त्रिपालमै भएपनि पेटभरी खान पाए हाम्रो लागि त्यही दसैं हुने थियो ।’

बारेकोटमा गएको पहिरोमा परि १४ जनाको ज्यान गएको थियो भने एक हजार ५६ परिवार विस्थापित भएका थिए । वर्षात रोकिएपछि अन्य परिवार घर फर्किएपनि तलगाँउका १४ दलित परिवार घर फर्कन सकेका छैनन् ।

उनीहरुले सरकारसँग गास र बासको माग गरेका छन् ।’ हाम्रो बस्ने ठाँउ पहिरोले बगायो। हामीलाई पुर्नवासको व्यवस्था गरिदिनु पर्‍यो, विस्थापित गोपाल कामीले भने ,’हाम्रो समस्या भनेकै गास र बासको हो ।’

चिसोले जेष्ठ नागरिक र बालबालिकालाई सताउन थालेको छ । पोषणयुक्त आहारको अभावमा बालबालिकामा कुपोषणको समस्या देखिनन थालेको छ ।

विस्थापित परिवारलाई पुर्नस्थापनाका लागि गाउँपालिकासँग स्रोत साधनको अभाव भएकोले प्रदेश र संघीय सरकारलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।

प्रकाशित मिति October 24, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस