कस्तो अचम्म एक महिनासम्म ब्राभित्र राखेर महिलाले कोरलिन हाँसको अण्डा

चराले ओथारो बसेर अण्डा कोरलेको कुरा त कुनै समाचार बन्ने थिएन तर जब मानिसले ओथारो बसेर चराको अण्डा कोरलिदिन्छ तब त्यो निकै ठूलो समाचार बन्दोरहेछ ।

अमेरिकाको क्यालिफोर्नियामा एकजना महिलाले आफ्नो ब्राभित्र हाँसको अण्डा राखेर कोरलिदिएकी छिन् । बेट्सी रोस नामकी ती महिलाले पार्कमा अलपत्र अवस्थामा फेला पारेको हाँसको

अण्डालाई आफ्नो ब्राभित्र पैँतिस दिनसम्म राखेर कोरलिदिएकी छिन् । उक्त अण्डाबाट हाँसको बचेरो निस्किएको छ । बेवारिसे हाँसको अण्डालाई आफ्नो ब्रा भित्र राखेर कोरल्ने ती महिलाको धेरै प्रसंसा गरेका छन् सामाजिक सञ्जालमा ।

समाचार अनुसार क्यालिफोर्नियाको भिसालियास्थित एक सार्वजनिक पार्कमा परिवार सँग हिँडिरहेको बेला उनले क्षतविक्षत अवस्थामा रहेको हाँसको एउटा गुँड देखिन् । उक्त गुँड बाहिर हाँसको एउटा अण्डा थियो ।

उक्त अण्डामा सानो चिरा परेको भएपनि अरु असर परेको थिएन । उनीसँगै रहेका उनका छोराछोरीले उक्त हाँसको अण्डा घर लगेर त्यसबाट हाँसको बच्चा निकाल्ने प्रयास गर्न अनुरोध गरे ।

तर उनले त्यसअघि घरमा कहिल्यैपनि चरा पालेकी थिइनन् र अण्डा कोरल्ने बारेमा उनलाई कुनै ज्ञान थिएन । तर बच्चाबच्चीको जिद्दीका अगाडि उनको केही लागेन र उक्त हाँसको अण्डलाई घर लगिन् ।

उनीसँग अण्डा कोरल्ने इन्कुबेटर मेसिन थिएन । त्यसपछि उनले उक्त अण्डालाई आफ्नो छातिमा ब्राभित्र राखिन् । अण्डा कोरलिनको लागि आफ्नो ब्राभित्र छातीमा टाँस्नु नै सबैभन्दा न्यानो तथा उपयुक्त ठाउँ हुने उनले ठहर गरिन् ।

उनले छातीमा राखेर अण्डालाई कसरी कोरल्न सकिन्छ भनेर इन्टरनेटमा समेत खोजी गरेकी थिइन् । इन्टरनेटमै सिकेको ज्ञान अनुसार उनले दिनमा दुई चारपटक ब्राभित्रको अण्डालाई ओल्टाइपल्टाइ गर्दथिन् ।

यसो गर्दा अण्डा कोरलिनका लागि उपयुक्त तापक्रम तथा आद्रता कायम हुन्थ्यो । उनले उक्त अण्डालाई ३५ दिनसम्म आफ्नो ब्राभित्र दुई वक्षस्थलको बीचमा राखिन् । उनी जहाँ गए पनि त्यो अण्डा उनको छातीमै टाँसिएको हुन्थ्यो र रातमा

सुतेको समयमा समेत छातीमै हुन्थ्यो । तर नुहाउने बेलाचाहिँ उनले उक्त अण्डालाई आफ्नो छातीबाट निकालेर आफ्नो पतिको छातिमा राखिदिन्थिन् । ३५औँ दिनमा हेर्दा उक्त अण्डाबाट

हाँसको चल्लाको आफ्नो ठुँड बाहिर निकाल्न थालेको जस्तो देखियो । त्यसपछि उनले उक्त अण्डालाई छातिबाट निकालेर एउटा खुल्ला बाकसमा राखिन् ता कि अण्डाको खोल फुटाएर चल्ला सजिलैसँग बाहिर निस्कियोस् ।

तर बाकसमा राखेपछि पनि हाँसको चल्लाको ठुँडले अण्डाको खोल फुटाएर बाहिर आउन नसकेपछि उनले पशु चिकित्सकलाई खबर गरिन् । पशु चिकित्सकको परामर्श बमोजिम उनले अण्डाको बाहिर खोललाई बिस्तारै फुटाइन् ।

त्यसपछि हाँसको चल्ला बाहिर निस्किन सक्यो । तथापि मानिसले कोरलेको उक्त चल्लाको अवस्था निकै नाजुक थियो । केही दिनको मेहेनतपछि मात्र उक्त चल्ला राम्रोसँग हिँड्न सक्यो ।

केही समय पालेपछि रोसले उक्त हाँसको चल्लालाई स्थानीय एक वन्यजन्तु उद्दार फारमलाई दिइन् । सो हाँसको चल्ला अहिले ठूलो भैसकेको छ र वन्यजन्तु उद्दार फार्ममा रमाइरहेको छ । एजेन्सी

प्रकाशित मिति October 19, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस