no-image

बुटवल ।

लुम्बिनी प्रदेश सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म ५० करोड ६० लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । जुन प्रदेशअन्तर्गतका अस्पताल, प्रयोगशाला र स्वास्थ्य

कार्यालयमा उपकरण, औषधि एवं स्वास्थ्यकर्मीको जोखिम भत्तामा खर्च भएको हो । यसमध्ये २० करोड ९९ लाख २० हजार रुपैयाँ कोरोना कोषबाट खर्च भएको छ । सरकारी

खर्चअनुसार कोरोना उपचार, रोकथाम र नियन्त्रण भने प्रभावकारी हुन नसकेको गुनासो छ । जटिल खालका बिरामीले उपचार अभावमा ज्यान गुमाएका छन् । कोरोना विशेष

अस्पतालमा बेड नपाएर छटपटाउँदाछटपटाउँदै १५ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । संक्रमित बढेपछि प्रदेशमा दुई महिनायता लक्षण देखिएका बिरामीलाई पनि निःशुल्क स्वाब परीक्षण गर्न छोडिएको छ ।

कोरोना सर्ने प्रबल सम्भावना रहेका यात्रा इतिहास भएका व्यक्तिलाई पनि पीसीआर परीक्षण गरिएको छैन । १२ जिल्लाका जटिल खालका बिरामीलाई उपचार गर्न प्रदेशमा चारवटा कोरोना अस्पताल सञ्चालनमा छन् ।

सामाजिक विकास मन्त्रालयका सहायक लेखापाल कृष्णबहादुर पौडेलका अनुसार ती अस्पताल व्यवस्थापन र सञ्चालनमा प्रदेश सरकारले अहिलेसम्म २१ करोड ६१ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ ।

प्रदेशमा शुक्रबार दिउँसोसम्म १४ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये कोरोना अस्पतालमा १ हजार ८५ जनाले मात्रै उपचार गराएका छन् । अस्पतालमा भर्ना भएका ६६ जनाको मृत्यु भएको छ ।

यस हिसाबले एक जना बिरामी बराबर प्रदेश सरकारले १ लाख ९९ हजार २ सय ७ रुपैयाँ लगानी गरेको छ । बुटवल, भैरहवा, दाङ र बाँकेमा रहेका कोरोना अस्पतालमा जम्मा १ सय ९५ बेड मात्रै छन् ।

चारवटै अस्पतालमा गरेर ३४ आईसीयू, ३३ मोनिटर र १२ वटा भेन्टिलेटर रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए । जसमध्ये ७ वटा

भेन्टिलेटर मात्रै सरकारले व्यवस्थापन गरेको हो । बुटवलमा रहेका ४ वटा भेन्टिलेटर र ८ वटा आईसीयू गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले दिएको हो । बाँकी एउटा भेन्टिलेटर

लुम्बिनी प्रादेशिक अस्पतालमा यसअघिदेखि नै सञ्चालनमा थियो । सरकारले कोरोना अस्पतालमा लगानी बढाइरहेको बताए पनि धेरै संक्रमित बेड अभावले र जटिल खालका संक्रमित

महँगो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । सामाजिक विकासमन्त्री सुदर्शन बरालले जटिल खालका बिरामीलाई मध्यनजर गर्दै बुटवलस्थित कोरोना अस्पतालको

क्षमता विस्तार थालिएको बताए । ‘हाइडिपेन्डेन्सी युनिटका ३० र अक्सिजन पाइपलाइनयुक्त ५० बेड थप गर्दै छौं,’ उनले भने, ‘तर धागो कारखानाभित्रको जग्गामा अस्पताल विस्तार गर्दा उद्योग विभागको स्वीकृति लिनुपर्नेलगायत कारणले केही ढिलाइ भएको छ ।

यसअघि सामाजिक विकास मन्त्रालयले भैरहवाको भीम अस्पतालमा आईसीयू र हाइडिपेन्डेन्सी युनिट विस्तार गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा भने प्रदेश मन्त्रिपरिषद्मा सहमति जुटेन ।

मुख्यमन्त्री एवं आर्थिक मामिला योजनामन्त्री शंकर पोखरेलले भीम अस्पतालमा सेवा विस्तार गर्ने प्रस्ताव ठाडै अस्वीकार गरेपछि बुटवलमा क्षमता बढाउन लागिएको हो । सरकारका

प्रवक्ता बैजनाथ चौधरीले दसैंतिहारको बीचमा जटिल खालका संक्रमित बढ्ने अनुमानसहित चुस्तदुरुस्त सेवा दिने ठाउँमा अस्पतालको सेवा बढाउन लागेको बताए । कोरोना अस्पतालमा खट्ने स्वास्थ्यकर्मी एवं चिकित्सकको जोखिम भत्ताका लागि

मात्रै १० करोड ९८ लाख ४० हजार रुपैयाँ खर्च भएको छ । कोरोना उपचारमा खट्ने स्वास्थ्यकर्मी एवं चिकित्सकका लागि शतप्रतिशत भत्ता दिने मापदण्ड छ ।

अस्पतालमा एक्सरेलगायत विभाग र आकस्मिक कक्षमा खट्नेलाई ७५/७५ प्रतिशत र अन्यलाई ५० प्रतिशत भत्ता तोकिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा भने कोरोना उपचारमा खटिएका चिकित्सकको साटो अस्पतालका कर्मचारीले नै कोरोना भत्ता लिएपछि छानबिन भइरहेको छ ।

प्रकाशित मिति October 17, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस