no-image

काठमाडौं

नेपाली कांग्रेसले जलाशययुक्त आयोजना बूढीगण्डकीमा सभापति शेरबहादुर देउवाको नाम जोडेर अर्बौं कमिसन लिएको भन्ने आरोप पुष्टि गर्न पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई चुनौती दिएको छ।

कांग्रेस सभापति देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले तीन/तीन अर्ब कमिसन लिएको प्रमाण आफूसँग रहेको पूर्वप्रधानमन्त्री भट्टराईले दाबी गरेका थिए।

कांग्रेसले विज्ञप्तिमार्फत जनता समाजवादी पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रमाण पेस गर्न चुनौती दिएको हो।

भट्टराईको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको जनाउँदै कांग्रेसले बूढीगण्डकीमा भएको अनियमितताबारे गहिरो अनुसन्धान गर्न सञ्चारमाध्यम र अख्तियारलाई अपिल गरेको छ। सार्वजनिक चर्चाका लागि भट्टराईले हलुका टिप्पणी गरेको कांग्रेसको दाबी छ।

‘देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेका नेताले ‘मसँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुनजान्छ,’ कांग्रेसले भनेको छ, ‘राजनीतिको प्रतिष्ठा न त भ्रष्टाचारको ढाकछोपले बढ्छ नत कपोलकल्पित, झुट र अर्थहीन आरोपले।

हामी नम्र भाषामा अपिल गर्दछौं तथ्यको जगमासत्यको खोजी नगरी आवेगको भरमा टिप्पणी गरेर क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित ब्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको

गरिमा बढ्छ। यति हेक्का डा.भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौं।’ नेकपा नेतृत्वको वर्तमान सरकार बनेपछि बूढीगण्डकी परियोजना एक विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको प्रकरणप्रति कांग्रेसले सार्वजनिक रूपमा निरन्तर कडा विरोध गर्दै आएको विज्ञप्तिमा जनाइएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले बूढीगण्डकी जलविद्युत् परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर कांग्रेस नेतृत्वको सरकारका पालामा गठित अध्ययन समितिले गरेको छ।

प्रकाशित मिति October 12, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस