no-image

काठमाडौं, २३ असोज । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न माग राख्दै अनसनमा बसेका डा.गोविन्द केसीका प्रतिनिधि र सरकारबीचको शुक्रबार साँझको वार्ता असफल भएको छ ।

विहीबार (हिजो) डा.केसीका प्रतिनिधि र सरकार पक्षबीचको वार्ता थप गृहकार्य आवश्यक रहेको देखाउँदै बिना निष्कर्ष रोकिएको थियो ।

त्यस्तै, आज पुनः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा राति ९ बजेदेखि बसेपनि सहमति हुन नसकेको बताइएको छ ।

डा.केसीले राखेका मागमध्ये २०७५ साउन १० गते भएको सम्झौता पूरा गर्नुपर्ने विषयमा सरकार पक्षले कुनै सहमति नजनाएपछि वार्ता असफल भएको बताइएको छ ।

वार्तामा सरकार पक्षले माग सम्बोधन गर्ने विषयमा कुनै म्यान्डेट तयार नगरेको डा.केसीका तर्फका वार्तामा सहभागी डा.जीवन क्षेत्रीले जानकारी गराए ।

डा.केसीको माग सम्बोधन गर्न र उनको जीवनरक्षा गर्ने विषयमा सरकार गम्भीर नभएको भन्दै भोलिदेखि कडा आन्दोलनका कार्यक्रम गर्ने पनि उनले बताए ।

वार्ता टोलीमा डा.केसीको तर्फबाट डा.जीवन क्षेत्री, डाक्टर अञ्जनी कुमार झा, डाक्टर लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल सहभागी थिए ।

त्यस्तै, सरकारको तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा थिए ।

हाल डा.केसी त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् । आज (शुक्रबार) उनको अनसनको २६ औं दिन हो ।

प्रकाशित मिति October 9, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस