no-image

काठमाडौं

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई कोरोना भाइरस (कोभिड–१९) संकटबारे छलफल गर्न अनुरोध गरेका छन् ।

अहिले मन्त्रिमण्डल भागबन्डा नभएर संकटको विषयमा छलफल गर्न आफूहरु तयार भएको थापाले बताएका हुन् ।

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञको नभएर वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाको कुरा सुन्न आग्रह गरेका हुन् ।‘योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन।

अहिले मन्त्रिमण्डल भागबन्डाबारे होइन, संकटबारे छलफल गर्नुस्। बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस्’, नेता थापाले भनेका छन्, ‘कोभिड विरुद्धको लडाईंमा तपाईंलाई साथ दिन चाहन्छौँ तर केही त गर्नुस् प्रमज्यू ।’

पूर्वस्वास्थ्यमन्त्री थापाले चार्डपर्वको मुखमा आवागमन बढिरहेको तर्फ सरकार सचेत हुनुपर्नेमा जोड दिएका छन् । अहिले समस्या भइहाले के गर्ने भन्ने अलमल सबैमा भएको भन्दै कोरोना संक्रमित जटिल हुँदा आइसोलेशन नभएको र उपचारका लागि बेडसम्म नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘एकातर्फ काठमाडौँ बाहिर परीक्षणको संख्या घट्दै गएको छ तर चाडवाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ’, थापाले भनेका छन्, ‘अर्कोतर्फ काठमाडौँमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ, न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ। केही समस्या भइहाले के गर्ने,सवैमा अलमल छ।’

नेता थापाले समय, स्रोत र सहयोग सबैको भए पनि प्रधानमन्त्रीकै सोच र शैलीका कारण जटिल अवस्थाको सिर्जना भएको टिप्पणी गरेका छन् । पटकपटक पूर्व तयारीका लागि सुझाव प्रस्तुत गर्दासमेत प्रधानमन्त्रीलाई फुर्सद नभएको उनले बताएका छन् ।

‘यो अवस्था आउन नदिन पूर्व तयारी गरौँ, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटक पटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन।

समय, स्रोत, सहयोग सबै थियो तर तपाईंको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौँ’, थापाले फेसबुकमा थप लेखेका छन्, ‘टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ।’

प्रकाशित मिति October 8, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस