no-image

इजरायल : इजरायलका वातावरण संरक्षण मन्त्री गिला गम्लिएलले गत शनिबार आफूलाई कोरोनाभाइरस संक्रमण भएको घोषणा गरिन् ।

तर यससँगै मन्त्रीले यस्तो पनि लुकाइन् कि, उनले लकडाउनको मापदण्ड उल्लंघन गर्दै योम किप्पुरस्थित धार्मिक प्रार्थनागृह भ्रमण गरेकी थिइन् । यस्तो कुरा यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

इजरायलको लोकप्रिय मिडिया हारेत्जले उल्लेख गरे अनुसार मन्त्री गाम्लिएलले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई यसबारे जवाफ दिन पनि घण्टौँसम्म अस्वीकार गरेकी थिइन् । जब उनी जवाफका लागि तयार भइन्, उनले आफ्नो सवारी चालकले कोरोना सारेको भन्दै पन्छिन खोजिन् ।

तर स्वास्थ्य मन्त्रालयको रिपोर्टमा उनले टिप्पणी गर्न मानिनन् ।
सरकारले यहाँ लागु गरेको लकडाउन मापदण्ड अनुसार प्रार्थनागृहमा प्रार्थना गर्नका लागि सबैलाई छुट त छ तर घरबाट एक किलोमिटरको दूरीभित्र मात्रै ।

वातावरण मन्त्री गाम्लिएल उत्तरी तेल अभिभ क्षेत्रमा बस्छिन् । तर प्रार्थना गर्न उनी तेल अभिभबाट १ सय ५० किलोमिटर टाढाको दूरीमा पर्ने तिबेरसस्थित प्रार्थनागृहसम्म पुगिन् ।
हारेत्जका अनुसार अर्का एक मन्त्रीले बिदाको अवधिमा सरकारी प्रतिबन्ध उल्लंघन गर्दै मन्त्री गाम्लिएलका ससूरालाई भेट्न घरमै आएका थिए ।

मन्त्री गाम्लिएलले स्वास्थ्य अधिकारीहरुलाई आफ्नो सवारी चालकबाट कोरोना सरेको जवाफ दिइन् । तर अनुसन्धानबाट उनको पारिवारिक घनिष्ठ सदस्यहरुबाटै कोरोना सरेको पुष्टि भएको छ ।

उनको पारिवारिक वृत्तमा जसलाई कोरोना लागेको थियो उनीहरु ड्राइभरको सम्पर्कमा आएकै थिएनन् । तर गम्लिएलले आफूले परिवारका सदस्यहरुसँग योम किप्पुरको प्रार्थनासभामा गएको स्वीकार गरेकी छन् ।

हालै सरकारले उक्त प्रार्थनागृहमा पनि अन्यलाई कोरोना लागेको हुनसक्ने भन्दै छानविन गर्न थालेको छ । मन्त्री गाम्लिएलले ट्वीटरमार्फत शनिबार राति मात्रै आफूलाई कोभिड १९ पोजिटिभ भएको बताएकी हुन् । अहिले उनले स्वास्थ्य अवस्था स्थिर रहेको बताएकी छन् ।

इजरायलमा कोरोनाभाइरस विरुद्ध सरकारी प्रतिबन्ध उल्लंघन गर्ने वातावरण मन्त्री गाम्लिएल पहिलो उच्चपदस्थ व्यक्ति हैनन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका सल्लाहकार र अन्य घनिष्ठ सम्बन्ध भएका अधिकारीहरुले पनि मापदण्ड उल्लंघन गर्दैआएका छन् ।

प्रकाशित मिति October 5, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस