no-image

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले अब पुनर्गठन हुने मन्त्रिपरिषदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई पुनः मन्त्री बनाउने तयारी गर्नुभएको छ ।

बाँस्कोटाविरुद्ध छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्णय बुझाउनु अघि नै बाँस्कोटालाई पुनः मन्त्रालयको जिम्मा लगाउने तयारीमा प्रधानमन्त्री ओली रहनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफू निकट नेता र मन्त्रीहरुसँग निवर्तमानमन्त्री बाँस्कोटालाई फेरि मन्त्री बनाउनु पर्नेमा जोड दिन थाल्नुभएको छ । काम गरे पनि अहिलेका मन्त्रीहरुले प्रचार नगरेको भन्दै ओली असन्तुष्ट रहनुभएको छ ।

निकटहरुले भने अख्तियारमा रहेको ७० करोड कमिसनको बार्गेनिङ काण्ड टुंगो लागेपछि मात्र मन्त्री बनाउन सुझाव दिएका छन् । निवर्तमान अख्तियार प्रमुख नवीन घिमिरेलाई

बाँस्कोटाको मुद्दा टुंगो लगाएर जान भनिएकोमा अझै टुङ्गो नलागेपछि प्रधानमन्त्री ओली असन्तुष्ट रहनुभएको निकट स्रोतले बताएको छ ।

बाँस्कोटाले ७० करोड कमिसनको बार्गेनिङ गरेको अडियो बाहिरिएपछि राजीनामा दिनुभएको थियो । ओलीले अहिलेको चरणमै बाँस्कोटालाई मन्त्री बनाउने योजना बनाउनुभएको छ ।

मन्त्रिपरिषद पुनर्गठनबारे प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सहमति नजुट्दा मन्त्रिपरिषद पुनर्गठन अन्यौलमा छ ।

प्रकाशित मिति October 1, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस