no-image

साउने झरीको एक साँझ । बृद्धाश्रमको परिसर । अपराहन्न करिब पाँच बजे उनले जीवनको अन्तिम सास फेरिन । र, सधैका लागि अस्ताइन । बुढेसकालमा जीवनको ओत खोज्दै

तेरौंटेस्थित बृद्धाश्रममा आइपुगेकी ६९ वर्षीया चेतकुमारी बुढाथोकी असार १२ गते बृद्धाश्रममै बितिन । उनी नौ महिनाअघि वृद्धाश्रममा पुगेकी थिइन । आफ्ना चार सन्तान, आफन्त र माइतीले साथ छाडेपछि उनी एक्लो बनेकी थिइन ।

र, जीवनको अन्तिम सहारा खोज्दै उनी बृद्धाश्रमको बाटो तताएकी थिइन । जाँगर छुउञ्जेल हात खुट्टा चलाएँ। बुढेसकाल लागेपछि रोगले च्यायो । काम गर्न नसक्ने भएँ’– छ महिना

अघि बृद्धाश्रममा भेटिदा उनले भनेकी थिइन्– ‘आफ्नो भन्नु सबै भएर पनि कोही नभए जस्तो भयो । बुढेसकाल सबैका लागि बोझ भयो । कतै अटाउन सकिनँ । अनि मैले बृद्धाश्रम नआएर सुखै पाइनँ ।

उनी दाङमा जन्मिन । बिहेवारी पनि यतै गरिन । चार सन्तान भए । अहिले दुई सन्तान नारायणगढ र एक सन्तान दाङमै छन । सानैमा भारत पसेका एक छोरा भने वेपत्ता छन ।

श्रीमान्ले अर्की ल्याएपछि उनी नारायणगढ पुगेर १२ वर्ष होटल गरिन्। सन्तानलाई उतै पढाइन्, हुर्काइन । शिक्षादीक्षा दिइन । विवाहवारी गरिदिइन । जीवनको बाटो देखाइदिइन । होटलबाट उनले केही सम्पत्ति पनि जोडिन ।

सम्पत्ति जति सन्तानलाई भाग लगाइदिइन । अहिले उनका सन्तानले राम्रै घरगृहस्थी गरेका छन । व्यवस्थित जीवन बाँच्दैछन । शरीरमा बल छउञ्जेल उनले होटल नै चलाइ रहिन ।

त्यसपछि उनी जेठो छोरासँग बसिन । ‘उमेर छउञ्जेल सन्तानबाटै राम्रै व्यवहार पाएँ’– उनले सुनाएकी थिइन्– ‘उमेर बढ्दै गएपछि रोगले सताउन थाल्यो। तब सबैबाट टाढिदै गएँ । उमेर ढल्कदै गएपछि उनी आफ्नै सन्तानबाट पराइ जस्तै भइन ।

उनीहरुसँग बस्न सकिनन । सन्तानप्रतिको जिम्मेवारी निर्वाह गरिसकेपछि उनले जीवनभर जोडेको सम्पत्ति छाडेर दाङ फर्किन । तर केही गर्नका लागि शरीरमा पहिले जस्तो जाँगर थिएन। सहारा भन्नु पनि कोही थिएन ।

दाङ फर्किएपछि केही समय उनले होटल चलाइन । त्यसपछि बिरामी परिन । पेटमा पानी भरिएको रहेछ। अप्रेसन गरिन । साथमा केही थिएन । ‘न पैसा थियो, न आफन्ती’– उनले भनेकी थिइन्– ‘होटल बेचेर औषधि गरें ।

अस्पतालमा उनी १२, १५ दिन बिरामी भएर थलिइन्। तर भेट्न कोही आएनन । उनका सन्तान थिए, आफन्त र माइती पनि थिए । र, पनि कसैले उनलाई सम्झिएनन । भेट्नसम्म आएनन ।

अन्ततः उनी बुढ्यौली उमेर र रोगले थलिएपछि कमजोर शरीर बोकेर गत वर्ष बृद्धाश्रम पुगेकी थिइन । बृृद्धाश्रममा उनी करिब नौ महिना बसिन । तर कुनै सन्तान पनि उनलाई भेट्न आएनन्। फोनसम्म गरेनन ।

आफन्त र माइती पनि नभएका होइनन । कसैले उनलाई वास्ता गरेनन । आफ्ना भन्नु भाइ बुहारी रहेछन । उनीहरु भने बेलामौका भेट्न आइरहे । आफैले जन्माएर हुर्काइ बढाई गरेको सन्तानले नसम्झे पनि उनलाई भने सन्तानको सम्झनाले सुब सताउँथ्यो ।

जीवनको अन्तिम क्षणमा उनलाई अरु केही चाहना थिएन। मात्र सन्तानको साथ चाहन्थिन । उनलाई लागेको थियो– आफैले जन्माए, हुर्काएका सन्तानले एकदिन त कसो पो न सम्झिएलान ।

छ महिनाअघि उनीसँग गरेको संवादमा उनले भनेकी थिइन्– ‘दुःखसुख जे छ, सन्तानको साथमा बिताउने मन छ। उनीहरुको साथ पाए सबै पुग्ने थियो ।

मलाई लिन आए त अहिले नै यहाँ (बृद्धाआश्रम) बाट जाने थिएँ।’ जीवनको अन्तिमसम्म पनि उनले बृद्धाश्रममा सन्तानको प्रतीक्षा गरिरहिन । सन्तानको बाटो कुरिरहिन्। र, अन्ततः उनी सन्तानको पर्खाइमै बितिन ।

असार १३ गते भौतिक शरीरलाई बिदाइ गरियो, आश्रममकै पहलमा। उनका सन्तान, माइती र आफन्तलाई दाहसंस्कार लागि सम्पर्क गरियो, बोलाइयो ।

उनका एक छोरा भने दाङमै रहेछन । आश्रममले छोरालाई बेलायो तर उनी सजिल्लै आउन मानेनन । ‘आफ्नै आमाको दाहसंस्कारमा पनि छोरा नआएपछि हामी निराश भयौं’– ज्येष्ठ

नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीले भन्नुभयो– बल्ल तल्ल फकाएपछि मात्र छोरा आए। र, केही आफन्त पनि आएर दाहसंस्कार गरियो । यो समाचार आभास बुढाथोकीले नयाँयुगबोध राष्ट्रिय दैनिकका लागि लेख्नुभएको हो ।

प्रकाशित मिति October 1, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस