no-image

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जानकारी दिए।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

गौतमलाई राष्ट्रिय सभा लैजान यसअघि गत फागुन १४ गते पार्टी बैठकले सरकारलाई सिफारिस गर्ने निर्णय लिएको थियो। लगत्तै प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरेका थिए। त्यसले सत्तारूढ दलभित्रको विवाद उत्कर्षमा पुगेको थियो। प्रधानमन्त्रीले युवराज खतिवडालाई मन्त्रीमा निरन्तरता दिन अन्तिमसम्म अध्यक्ष दाहाल, उपाध्यक्ष गौतमलगायत नेताहरूलाई मनाउने प्रयास गरेका थिए। उनीहरू नमानेपछि आफैंले गौतमको प्रस्ताव ल्याएका थिए।

आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिको प्रस्ताव नआएकाले छलफल नभएको बालुवाटार स्रोतले जानकारी दिएको छ। प्राधिकरणको कार्यवाहक पनि कसैलाई तोकिएको छैन। वर्षौंदेखिको लोडसेडिङ समस्याबाट मुलुकलाई मुक्त गरेर जनतालाई उज्यालो दिएका नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको छ। नागरिकस्तरबाट उनलाई नियुक्त गर्न व्यापक दबाब छ।

त्यसैगरी आजको बैठकमा सरकारका प्रवक्ताको रुपमा कसैलाई तोकिएको छैन।

प्रकाशित मिति September 14, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस