no-image

मोरङको सुन्दरहरैंचा नगरपालिका–१० की ३८ वर्षीया दिलमाया नेपाली अहिले भारतको नयाँ दिल्लीमा अलपत्र परेकी छन्। वैदेशिक रोजगारीमा जान खोजेकी उनी दलालको चुंगुलमा फस्दा सात महिनाअघि दिल्ली पुर्‍याइएकी हुन्। कोरोना कहरसँगै दिल्लीमा अलपत्र परेकी उनले अहिलेसम्म घर फर्कन पाएकी छैनन्। राम्रो कमाई हुने प्रलोभन देखाएर कुवेत लैजाने भन्दै दलालले उनलाई दिल्लीमा पुर्‍याएर अलपत्र पारिदिए।

दिलमायाको उद्धार हुन सकेको छैन। पैसा कमाउने र परिवारलाई सुखसयलमा राख्ने सपना बोकेर विदेश हिँडेकी उनी दिल्लीबाट नेपाल आउन खोजिरहे पनि सकिरहेकी छैनन्। लगेका पैसा पनि सकिएपछि बेखर्ची बनेको र उनलाई दिल्ली पुर्‍याएर अलपत्र पार्ने एजेन्ट पत्ता लाग्न नसकिरहेको स्थानीय कुमार मिजारले बताए।

यता सन्तानको रेखदेख गर्ने जिम्मेवारी लिएर घरमा बसेका ४७ वर्षीय श्रीमान अशोक दर्जीले पनि श्रीमतीलाई दिल्ली पुर्‍याएर अलपत्र परेको खवर थाहा पाए। मजदुरी गरेर परिवार धान्दै आएका उनले सल्लाहमै श्रीमतीलाई पैसो कमाउन विदेश पठाएका थिए। सुकुम्बासी बस्तीमा बसोबास गर्ने उनको आफ्नो जग्गा जमिन छैन। ज्यालामा निर्माणको काम गरेर सन्तानलाई पाल्दै आएका उनको पनि यता कोरोनाले काम खोसिदियो। ‘दिल्लीमा श्रीमती अलपत्र परेको तनावसँगै मजदुरी रोकिएर घरमा आम्दानीको बाटो बन्द भएपछि कमाएर खुवाउन नसक्दा परिवारमा भोकमरी सुरु भयो,’ मिजारले भने, ‘त्यही तनावका कारण उनले मृत्युको बाटो रोज्दा अहिले सन्तानको कन्तविजोग भएको छ।’

प्रकाशित मिति September 12, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस