बामदेव पाल्पा वा कास्कीबाट चुनाव लडने मंसिरसम्म प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता छाड्ने उद्देश्यले नै नेकपा उपाध्यक्ष बामदेव गौतमको नाम अगाडि सारेका सो पक्षले दाबी गरेको छ । ओलीका विश्वासपात्र तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक टेलिभिजन अन्तर्वार्तामा यस्तो दाबी गरेका हुन । उनका अनुसार गौतमलाई प्रधानमन्त्री बनाउनैका लागि आज बस्न लागेको सचिवालय बैठकमा स्पष्ट खाका तथा समयतालिका पेश गर्ने ओलीको तयारी छ ।

ओलीले बामदेवलाई प्रधानमन्त्री बनाउने विषयमा आश्वस्त बनाई आफ्नो कुर्सी गिराउन भइरहेका प्रयासहरुलाई निस्तेज पार्ने तयारी गरेका छन । यसअघि बसेको सचिवालय बैठकले आवश्यक तयारी गरी आजको मितिमा बैठक तोक्नुलाई समेत सोही विषयसँग जोडेर हेरिएको छ । ओली पक्षले आवश्यक तयारी गर्ने भनिएको मतलब बामदेवलाई कसरी प्रधानमन्त्री बनाउने भन्ने विषयको खाका कोर्ने र टुंगोमा पुग्ने भन्ने थियो ।

स्रोतले भनेको छ अहिलेसम्मको अवस्था अनुसार ओली पक्षले बामदेव गौतमलाई मंसिरसम्म प्रधानमन्त्री बनाइसक्ने खाका प्रस्तुत गर्नेछ । यसका लागि आजको बैठकमा ओलीले बामदेवकै रोजाईमा निर्वाचन क्षेत्रको समेत टुंगो लगाउने र त्यहाँ उपनिर्वाचन गरी बामदेवलाई प्रतिनिधिसभामा ल्याउने विषयमा ठोस निर्णय हुनसक्छ । सत्तारुढ नेकपाका उपाध्यक्ष समेत रहेका बामदेव गौतमले राष्ट्रियसभा सदस्यको

रुपमा मनोनीत भई संविधान संसोधन गरेर प्रधानमन्त्री हुन समेत खोजेका थिए । तर, त्यसको सर्वत्र विरोध भएको थियो । जनमत नै नभएको नेतालाई संविधान संसोधन गरेर प्रधानमन्त्री बनाउँदा गलत अभ्यासको थालनी हुने भन्दै यस्तो बाटोबाट अगाडि नबढ्न आफ्ना निकटकाले सल्लाह दिएपछि बामदेव जनमत प्राप्त गरेरै प्रधानमन्त्री बन्न लालायित छन ।

ओली पक्षबाट ठोस प्रस्ताव नै आउने बुझेकै कारण यो बीचमा बामदेवले समेत प्रधानमन्त्री बन्नसक्ने कानूनी बाटाहरु तथा सहज क्षेत्रहरुको विषयमा आफू निकटका कानून व्यवसायी, राजनीतिज्ञ तथा नेताहरुसँग छलफल गरेका छन । बामदेवले आफूले रोज्नै परे कास्की वा पाल्पाका कुनै क्षेत्र रोज्नसक्ने स्रोत दाबी गर्छ ।

तर, उहाँलाई कास्कीभन्दा पाल्पाबाट चुनाव लड्दा जोखिम कम हुन्छ । गौतम निकट स्रोतले भनेको छ आजको सचिवालयले गौतमलाई प्रधानमन्त्री बनाउने र जनमत प्राप्तिका लागि निर्वाचन लडाउने विषयमा ठोस निर्णय गर्ने हामीले बुझेका छौ । बामदेवलाई प्रधानमन्त्री बनाउनका लागि ठोस प्रस्ताव ल्याउन नसकेको खण्डमा प्रधानमन्त्री ओली अप्ठ्यारोमा पर्नेछन ।

यसकारण समेत उनले यो पटक बामदेवको विषयमा स्पष्ट खाका प्रस्तुत गर्नुपर्नेछ । बामदेव गौतम भने यसअघि पनि आफूलाई ५ पटक धोका भएको भन्दै उधारोमा सहमति नगर्ने अडानमा छन् । उनले ठोस प्रस्ताव आएमा मात्र ओलीलाई साथ दिने बुझिएको छ । ओलीले आगामी मंसिरसम्ममा बामदेवलाई चुनाव लडाएर जिताई सरकारको नेतृत्व जिम्मा लगाउने सोंच बनाएका स्रोतहरु दाबी गर्छन ।

वरिष्ठ नेता माधवकुमार नेपाल र प्रचण्ड समूह पनि ओलीलाई यो पटक त्यत्तिकै छाड्ने पक्षमा छैन । यो समूहले स्थायी कमिटी बैठक तत्काल बोलाउन र त्यहाँ जे निर्णय हुन्छ, त्यसको सामना गर्न भनिरहेको छ । तर, ओली स्थायी कमिटी बैठकअघि पार्टीका विभिन्न नेता तथा खेमामा उठेको उनीप्रतिको आक्रोश कम गर्न चाहन्छन् ।

यही उद्देश्यले बामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई तेश्रो अध्यक्ष बनाउने यसअघिको सचिवालयमा उनले प्रस्ताव गरेका थिए । गौतम प्रधानमन्त्री बन्न तयार देखिए पनि माधव नेपाल चाहि पार्टीको तेश्रो अध्यक्ष बन्न तयार छैनन् । नेपाललाई ओलीले सहमतिको कस्तो अस्त्र फ्याक्छन् भन्ने कुरा आजको सचिवालय बैठकपछि मात्र थाहा हुने देखिन्छ ।

सचिवालयका केही नेता चाहि यदि ओलीले इमानदारीपूर्वक बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका हुन् भने उनले तत्काल राजीनामा दिनुपने बताउँछन । उनीहरुको भनाई छ ओलीले राजीनामा दिएर बामदेवलाई वरिष्ठ उपप्रधानमन्त्री बनाउने र ६ महिनाभित्र कतै चुनाव गरी बामदेवलाई जिताएपछि उनी कन्फर्म प्रधानमन्त्री बन्नेछन ।

प्रकाशित मिति May 2, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस