२०७२ सालको भुकम्प जाँदा धरहरा बाट खसेर बाँचेकी युवती १ शेयर गर्नुहोस

कुरा गर्दागर्दै रमिला श्रेष्ठ एकछिन टोलाउँथिन् र हामीलाई भनिरहन्थिन मलाई पहिलाको कुरा धेरै नगर्नु न डर लाग्छ । उनको अनुहारमा तनावका धर्सा देखिएपछि हामीले पनि भूकम्पका विषयमा उनलाई धेरै सोध्न उचित ठानेनौँ । तर, कुरा गर्दै जाँदा उनी आफैँ प्रसंग निकाल्थिन् र सन्दर्भ लम्बिँदै जान्थ्यो । तीन दिनअघि उनले फेरि भूकम्प गएको सपना देखिन ।

तीन वर्षमा उनले भूकम्प गएको सपना सयौँपटक देखिसकिन । बिहानपख उनलाई बेस्सरी खाट हल्लिएजस्तो हुन्छ र उनी असिनपसिन हुँदै उठ्छिन । म भूकम्प गएको सपना देखि रहन्छु ३ दिन अघि पनि देखेकी थिएँ । सपनामा खाट हल्लिएजस्तो लाग्छ आफूले बारम्बार देख्ने सपना सम्झिँदै उनले सुनाइन त्यस्तो सपना देख्दा अबचाहिँ बाँच्दिनँ कि जस्तो पनि लाग्छ ।

भूकम्पको सपना उनी प्रायः बिहानपख देख्छिन । सपनाबाट ब्युँझिएपछि उनलाई असाध्यै डर लाग्छ र फेरि निदाउनै सक्दिनन । बारम्बार देखिने त्यही सपनाले उनलाई लखेटिरहन्छ । उनी भन्छिन् । ०७२ वैशाख १२ गते उनी साथीसँग धरहरा चढ्न पुगिन् । धरहराको टुप्पोबाट फेदमा मान्छेहरू किरिङ मिरिङ देखिन्थे । गाडीको गोलाकार धर्सो टुँडिखेललाई केन्द्र पारेर चलायमान थियो ।

रामेछापबाट काठमाडौं घुम्न आएकी उनलाई धरहरामाथि बाट काठमाडौं हेर्दा मज्जा लाग्यो । तर, धरहराको माथिल्लो उचाइबाट काठमाडौं हेर्दा लागेको खुसी धेरै बेर टिक्न सकेन ।
एक्कासि हावा चलेजस्तो लाग्यो, उनी थुचुक्कै भुइँमा बसिन् । त्यसपछि के भयो उनलाई थाहा छैन । होसमा आउँदा बेस्सरी घामले पोलेजस्तो भयो । भित्र कहाँ कहाँ पीडा भएजस्तो, मुख सुकेजस्तो लागेको थियो ।

फेरि धुम्म भयो । छिनछिनमा होस आउँदै जाँदै गरेको थियो । होसमा आएका वेला खुट्टा पसारेर बसेको अवस्थाको सम्झना छ उनलाई । खुट्टा चलाउन खोजिन तर सकिनन् । खुट्टा चल्दै चलेन । आफ्नो खुट्टा भाँचिएको थाहा पाउन उनलाई धेरै बेर लागेन । ला यस्तो भयो, अब ममी ड्याडीले मा’र्नुहुन्छ जस्तो लाग्यो, एकदमै डर लागेको थियो तीन वर्षअघिको घटना सम्झिँदै उनले भनिन ।

एकैछिनमा उनलाई कसैले वीर अस्पताल पुर्यायो । कसले लग्यो उनलाई अझैसम्म थाहा छैन । साँझपख एकजना दिदीले दिउँसोको घटना सम्झाएपछि बल्ल भूकम्प गएको र आफू धरहराबाट खसेर पनि बाँच्न सफल भएको उनलाई थाहा भयो । त्यसपछि यति धेरै खुसी भएँ कि भन्नै सक्दिनँ धरहराबाट खसेर पनि बाँचेको कुराले मलाई दोस्रो जुनी पाएजस्तै लाग्यो उनले सुनाइन् ।

भाँचिएको खुट्टा निको भएन । दुवैतर्फ काखीमा वैशाखी च्यापेर जसो तसो घरवरपर डुल्न त सक्थिन तर धेरै टाढा हिँड्न सकिनन । खुट्टामा राखेको स्टिल हल्लिन थालेपछि उनलाई अब कहिल्यै खुट्टा निको हुँदैन जस्तै लाग्यो । हिँड्दा खुट्टामा राखेको स्टिल हल्लिन्थ्यो डाक्टरले ६-७ महिनामा निको हुन्छ भनेका थिए, तर निको भएन उनले भनिन त्यो एक वर्ष म रोईरोई बाँचेँ नरोएको दिन नै हुँदैनथ्यो

एक वर्षपछि उनलाई निको भयो । काखीबाट वैशाखी उत्रियो । त्यसपछि भने उनलाई विछट्टै खुसी लाग्न थाल्यो । भाग्यले दोस्रो जुनी पाएको ठानेकी उनलाई जीवनमा केही गर्नैपर्छ भन्ने लाग्छ । जीवनमा केही गर्नैपर्छजस्तो लागेको छ, उनी भन्छिन । नयाँ पत्रिका दैनिक बाट

प्रकाशित मिति April 23, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस