विदेशबाट फर्किएकालाई भेदभाव र अपमान नगर

गाउँमा कोरोनाका नाममा एक घरले अर्को घरलाई घृणा गर्ने अवस्था सिर्जना भएको छ । कतिपय जनप्रतिनिधिले जानेर,नजानेर वा ढङ्ग नपुगेर घृणाको खेतीलाई विस्तार गरिरहेका छन् । यस्ता पालिका र समुदायका कारण विदेशबाट फर्किएका नागरिक अहिले ज्वरो आउँदा समेत अस्पताल जान नपाएर आफ्नो घर र गाउँमा लुकेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।

कोरोना सङ्क्रमित बागलुङ कुँडुलेकी युवतीले यस्तै नियति भोग्नुपरेको तथ्य यसअघि नै सार्वजनिक भएको हो । उनी गएको चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । घर पुगेपछि बिरामी परे पनि उनी अस्पताल जान सकिनन् । छरछिमेकले कोरोना सङ्क्रमण भएको थाहा पाए घृणा गर्ने र पछि विवाह गर्न केटो नपाइने डरले सङ्क्रमण लुकाउनु परेको गुनासो उनको परिवारले गरेको छ ।

उनको स्वास्थ अवस्था अहिले सामान्य छ । अहिले हामी सबैले उनको शीघ्र स्वास्थ लाभको कामना गर्नुपर्ने बेला हो र गर्नुपर्दछ । सङ्क्रमण नहुँदै र स्वस्थ रहँदा पनि विदेशबाट फर्किएका आम नागरिकले चाहिँ समाजमा मुख देखाउनै पनि अप्ठ्यारो हुने अवस्था सिर्जना भएको छ । उनीहरुलाई भेदभाव गर्ने काममा नागरिक र छिमेकी मात्र होइन, पालिकाहरु समेत अग्रसर देखिएका छन् ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले विदेशबाट गाउँमा आउने मानिसबारे जानकारी दिने व्यक्तिलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । पालिकाले माइकिङ गरेर विदेशबाट आएकाहरुबारे जानकारी दिन उर्दी जारी गरेको हो । त्यस्तै गुल्मीको गुल्मी दरबार गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको घरघरमा रातो झण्डा राख्न थालेको छ ।

छिमेकी देश भारत तथा अरु देशबाट आएका नागरिकको पहिचानका लागि झण्डा राख्ने निर्णय भएको गाउँपालिकाका स्वास्थ्य संयोजकको दाबी छ । पालिकाहरुले राम्रै नियतले माइकिङ गरेका र घर-घरमा झण्डा गाडेका भए पनि यो काम गलत समयमा भएको छ र हचुवा तालमा भएको छ । पालिकाका यस्ता कामले विदेशबाट आएका नागरिक र उनीहरुको परिवारमा त्रास पसेको छ ।

साथै पालिकाका यो कामबाट ‘कोरोना लागेपछि मान्छे बाँच्दैन’ भन्ने अर्को अप्रत्यक्ष त्रास सहितको सन्देश पनि घर घरमा पुगेको छ । हो, अहिलेसम्म नेपालमा कोरोनाको सङ्क्रमण देखिएका पाँचै जना विदेशबाट फर्किएका नेपाली नै हुन् । तर विदेश जानु र विदेशबाट फर्किनु न उनीहरुको अपराध हो, न त उनीहरुले ‘आईज आईज’ भनेर कोरोनालाई बोलाइ आफ्नो जीउमा बोकेर आएका हुन् ।

उनीहरु फर्केका देश र ट्रान्जिटमा पनि उनीहरुका कारण कोरोना फैलिएको होइन भन्ने कुरा स्पष्ट छ । कोरोना सङ्क्रमणको डर या अरु कारणले विदेशबाट फर्केका नागरिकलाई उनीहरुकै आफन्त या छिमेकीले गर्ने व्यवहार नराम्रो हुनु भनेको समाजमा अर्को जोखिम बढ्नु हो । अहिले देश र संसार कोरोनासित लडिरहेको छ तर गाउँमा भारतबाट आएका या रोजिरोटीका लागि विदेश पुगेर फर्किएकाहरु सामाजिक वहिष्करणमा पर्ने खतरा बढेको छ ।

कतिपय गाउँपालिकाले विदेशबाट फर्केकाहरुलाई व्यवस्थित क्वरेण्टीनमा राखेका छन् । परिवार र समुदायमा सङ्क्रमण नफैलियोस् भनेर आफै सचेत भइ सेल्फ क्वरेण्टीनमा बस्नेहरु पनि छन् । पालिकाका प्रतिनिधिले बुझ्नुपर्ने र बुझाउनुपर्ने मुख्य कुरा के हो भने सामान्य रुघाखोकी लाग्दैमा र ज्वरो आउँदैमा महामारी भइ हाल्दैन । अनि सङ्क्रमण हुँदैमा ज्यान जान्छ भन्ने पनि सत्य होइन ।

नेपालमै पहिलो सङ्क्रमित व्यक्ति निको भएर घर फर्किसकेका छन् । उनी पनि विदेशबाट फर्किएका थिए । अहिले उपचार गराइरहेका चार जनाको अवस्था पनि सामान्य छ । त्यसैले विदेशबाट फर्किएका सबै सङ्क्रमित हुँदैनन्, सङ्क्रमित भइ हाले भने पनि निको हुन्छ । यस्तो बेला अरुलाई सर्न नदिनको लागि उच्च सावधानी अपनाउने हो, १४ दिनको एकान्तवास त्यही सावधानीको पहिलो चरण हो ।

यो सावधानी सबैभन्दा पहिले विदेशबाट फर्किएकाहरुले अपनाउनुपर्छ । कथंकदाचित थाहै नपाइ आफूले कोरोना भाइरस बोकेको रहेछ भने सबैभन्दा पहिले त्यो भाइरसले आफ्नै घरका पाका र स्वास्थ्य समस्या भएका मानिसलाई आक्रमण गर्छ । अनि फैलियो भने केही घण्टामै आफ्नो परिवार, समुदाय र पालिकाका सीमा पार गरेर देशर विदेशमा फैलिन्छ ।

त्यसैले सङ्क्रमण देखिए समयमै स्वास्थ जाँच गराएर र नभए पनि १४ दिन एकान्तवासमा बसेर परिवार, समुदाय र देशमा सङ्क्रमण फैलिन नदिने अभियान सफल बनाउन विदेशबाट फर्केको नागरिकले सहयोग गर्नुपर्छ । गाउँ फर्केर पनि क्वरेण्टीनमा बस्न नमान्नेलाई उनीहरुको परिवार, समुदाय र पालिकाहरुले सम्झाइ बुझाइ गरेर र आवश्यक पर्दा दबाब दिएर पनि स्वास्थ जाँच सहित क्वरेण्टीनमा राख्ने व्यवस्था मिलाउनुपर्छ ।

तर विदेशबाट फर्केकै कारण उनीहरुलाई पक्रन उर्दी जारी गर्ने, उनीहरुका घरमा झण्डा गाडेर अपमानित गर्ने, हेलाँ र भेदभाव गर्ने छुट न समुदायलाई छ, न नेपालका तीनै तहका सरकारलाई ।

प्रकाशित मिति April 1, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस