नेकपाले दुइतिहाइ बहुमत ल्यएर जितेको धेरैलाई किन मन परेको छैन पूरा पढ्नुहोस

अहिले कम्युनिष्ट आन्दोलनको दृष्टिले पनि हामी निकै ठूलो अवसर र चुनौतीको दोसाँधमा छौं। मुलुकको राजनीतिक परिस्थितिको दृष्टिकोणले पनि संविधानसभामार्फत् संविधान निर्माण भइसकेपछि त्यसैको आधारमा सम्पन्न भएको निर्वाचनको माध्यमबाट एउटा बलियो कम्युनिष्ट सरकार बनेको छ। यो हाम्रो लागि निकै ठूलो अवसर हो र चुनौती पनि। यी दुवै सँगसँगै हामी सामु छन्। केही ढिलो भए पनि पार्टी एकताको प्रक्रियालाई करिब-करिब अन्त्यतिर पुर्‍याएका छौं। अब बस्ने केन्द्र्रीय कमिटिको बैठकबाट एकीकरण प्रक्रियालाई टुङ्ग्याएर पार्टीको अभियान सुरू गर्दैछौं।

देश र अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीका नीति कार्यक्रम र विचारका बारेमा प्रशिक्षणात्मक अभियान चलाउने सोच नेतृत्वले राखेको छ। कम्युनिष्ट आन्दोलन यति धेरै विस्तारित र निर्वाचनमार्फत् लोकप्रिय भएको विश्वको इतिहासमा सम्भवतः पहिलो घटना र प्रयोग पनि हो। यसकारण यो नेपालको लागि मौलिक र विशिष्ट छ। राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्व पनि उत्तिकै छ। अब राम्रोसँग संश्लेषण गर्ने र यसको राम्रा पक्षहरूका बारेमा अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्न आवश्यक देखिएको छ। जति राम्रोसँग स्थापित गर्न सकियो त्यति नै स्तरमा कम्युनिष्ट आन्दोलन सुदृढ हुन्छ र यसबाट अन्तर्राष्ट्रिय श्रमजीविहरूले नेपालको कम्युनिष्ट आन्दोलनबाट शिक्षा लिन सक्ने अवस्था हुन्छ।

निकै लामो सङ्घर्ष र बहस, त्याग र बलिदानका धेरैवटा शृङ्खलाहरू पार गरेर मात्रै यो ठाउँमा आइपुगेका हौं। आन्दोलन र सङ्घर्षका बीचबाट खारिएका नेताहरूको विशाल पंक्ति तयार नभएको भए, जनताका मुद्दा लिएर वर्ग सङ्घर्ष र सामाजिक न्यायसम्बन्धी मुद्दाहरू नबोकेको भए, विभिन्न खाले तानाशाही र सामान्तवादका विरुद्ध नलडेको भए र त्यस लडाईंमा विजय हासिल नगरेको भए, यो परिस्थिति बन्ने अवस्था थिएन। यो निकै गौरवशाली क्षण हो।

संविधान घोषणा गरेर निर्वाचनमार्फत् सरकार बन्ने प्रक्रियामा प्रमुख कम्युनिष्ट पार्टीका दुई घटकबीच हुने एकताको सन्देशलाई नेता कार्यकर्ता हुँदै जनतासमक्ष पुर्‍यायौं। जसलाई जनताले स्वीकारमात्रै गरेन, निर्वाचनमार्फत् अनुमोदनसमेत गराएपछि मात्रै हिजो असम्भव हुन्न कि भन्ने ठानिएको काम फत्ते भएको छ। दुई तिहाई मतसहितको कम्युनिष्ट पार्टी नेतृत्वको सरकार बन्न सम्भव भएको अवस्था छ।

प्रकाशित मिति September 5, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस