एक महिनादेखि नेपाल प्रहरीकै कम्प्युटर ह्याक

भदौ १८ काठमाडौँ ।एटिएम ह्याक गरी बैंकको पैसा झिक्ने अन्तर्राष्ट्रिय ह्याकर पक्राउ गर्न सफल नेपाल प्रहरी आफैँ साइबर हमलाको सिकार भएको छ ।

यो खबर नयाँ पत्रिका मा टेकराज थामीले लेखेका छन् । नेपाल प्रहरीको केन्द्रीय तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कम्प्युटर ह्याक भएको हो ।प्रहरी स्रोतका अनुसार ह्याकरले प्रतिष्ठानस्थित प्रहरीको अधिकृत क्याडेडका लागि तयार तालिम सामग्री नै ह्याक गरेका छन् । जुन अत्यन्त गोप्य डकुमेन्ट हुन् । फाइलभित्र राखिएको डकुमेन्ट खोल्न खोज्दा ह्याकरले फिरौती रकम माग्ने प्रहरी स्रोतले जनायो ।

एकेडेमीको कम्प्युटर ह्याक भएको रहेछ । फाइल ओपन गर्न खोज्दा फिरौती रकम माग्छ । यो गतिविधि कहाँबाट कसरी भइरहेको छ कुनै भेउ पाउन सकिएको छैन । अनुसन्धान निकै जटिल देखिएको छ,’ स्रोतले भन्यो ।कम्प्युटरका डकुमेन्ट ह्याक भएको तथ्य महिना दिनअघि थाहा पाएको हो । त्यसपछि घटना अनुसन्धान गर्न प्रतिष्ठानले प्रहरी प्रधान कार्यालयस्थित साइबर ब्युरोलाई जिम्मा लगाएको छ । तर, अनुसन्धान टुंगिएको छैन ।

केही दिनमै परिणाम आउने अपेक्षामा प्रहरी छ ।ब्युरो प्रमुख डिआइजी विकास श्रेष्ठले प्राविधिक पाटो भएकाले प्राविधिज्ञसँग बुझेर मात्रै जानकारी दिन सकिने बताए । कतिपय काम प्राविधिकबाट हुन्छ । के भइरहेको छ, यस सम्बन्धमा म जानकार भइनँ । प्राविधिकसँग बुझेर मात्रै यसबारे बोल्नुपर्ने हुन्छ । थप कमेन्ट नगरौँ उनले भने ।प्रतिष्ठानका प्रवक्ता एसपी तारादेवी थापाले तालिम केन्द्रको कम्प्युटर प्रधान कार्यालयबाटै रिकभर भइरहेको बताइन् । उनले भनिन्,तालिम केन्द्रका कम्प्युटरमा केही समस्या आएको सुनेकी हुँ । यसको रिकभर हेडक्वार्टरबाटै हुने हो । त्यो भइरहेको होला । यस सम्बन्धमा नयाँ के भइरहेको छ,जानकारी भएन ।

प्रहरीका अनुसार यस्ता आक्रमण नेपालमा खासगरी भूकम्पका वेला धेरै भएका थिए । त्यतिवेला राष्ट्रपति कार्यालयदेखि नेपाली सेनाका कम्प्युटरमा समेत साइबर हमला भएको थियो ।पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्–नेपाल प्रहरीसँग कम्प्युटर सेक्युरिटी टिम नहुँदा साइबर हमलाको जोखिम सधैँ छ । साइबर अपराध अनुसन्धानका लागि नेपाल प्रहरीसँग कम्प्युटर सेक्युरिटी इन्सिडेन्ट रेस्पोन्स टिम (सर्ट) छैन । यो साइबर हमलासम्बन्धी अनुसन्धान गर्ने इन्फर्मेसन टेक्नोलोजीसँग सम्बन्धित व्यावसायिक समूह हो ।

सर्ट’ले हमलाअघि नै सूचना दिने, हमलापछि पनि अनुसन्धान गर्ने र साइबर हमला हुनबाट बच्ने तरिका सिकाउँछ । संसारका विकसित मुलुकका सबै प्रहरी संगठनसँग ‘सर्ट’ टिम छ । तर नेपाल प्रहरीसँग छैन ।

प्रकाशित मिति September 4, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस