देव विकास बैंक १८ करोड हिनामिना अन्य १० जना पक्राउ (पूरा पढनुहोस)

दाङ । दाङको नारायणपुरमा रहको देवः विकास बैंकको शाखाबाट झण्डै १८ करोड रुपैयाँ हिनामिना भएको घटनाको अनुसन्धानका क्रममा थप १० जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बुढाथोकीले ३६ जनाको नक्कली खाता बनाई त्यसबाट ५४ जना अन्य खातावालाको नाममा पैसा पठाएको अनुसन्धानमा देखिएको छ । पैसा जम्मा भएका खातावालाले रकम निकालेको देखिएको छ । त्यो रकम कहाँबाट प्राप्त भएको हो भनी नसोधेरै खर्च गरेको देखिएपछि उनीहरुलाई प्रतिवादी बनाएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिनुभएको छ ।

प्रहरीले अनुसन्धानका लागि १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ । रकम हिनामिना भएको भनिएको बैंकको शाखा कार्यालयमा खाता भएका दश जना सेवाग्राहीलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धानका थालिएको प्रहरीले जनाएको छ । बैंकका शाखा प्रमुख समिर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो । बुढाथोकीलाई गएको भदौ ४ गते प्रहरीले लमहीबाट पक्राउ गरेको थियो ।

बैंकले रकम हिनामिना भएको भन्दै शाखा प्रबन्धक बुढाथोकीविरुद्ध प्रहरीमा उजुरी गरेपछि नियन्त्रणमा लिएको थियो । बुढाथोकीको बयान र कागजपत्र तथा रकम निकासामा अनुसन्धानलाई केन्द्रित गरिएको छ । अनुसन्धानका क्रममा धेरै व्यक्तिहरु तानिन सक्ने देखिएको छ । पक्राउ परेका १० जनालाई आइतबार अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । पछिल्लो  छ / सात महिनाको अवधिमा त्यो रकम हिनामिनाको काम भएको देखिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो ।
यो खबर उज्यालो अन्लाईन ले छापेको छ ।

प्रकाशित मिति September 2, 2019

हामीलाई फेशबुकमा लाइक गर्नुहोस