चीनले नेपालको लागि पठाउने भयो कोरोना रोक्‍न सामग्री र चिकित्सक

चाहिने कुराको व्यवस्थित सूची माग काठमाडौँ ।

कोरोना भइरस (कोभिड १९) नियन्त्रणका लागि आफ्नो मुलुकमा सफलता हासिल गर्दै आएको छिमेकी मुलुक चीनले नेपालका लागि आवश्यक पर्ने मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव गरेको छ । नेपालका लागि के सामग्री र प्राविधिक सहयोग आवश्यक पर्छ, त्यसबारे व्यवस्थित माग राख्न चीनले भनेको हो । भाइरस प्रभावित अन्य मुलुकहरूलाई सहयोगको मात्रा बढाइरहेको चीनले नेपालमा पनि सम्भावित महामारी रोक्नका लागि सहयोगको प्रतिबद्धता जनाएको हो ।

कोरोना भाइरस रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार चीनले सहयोगका सम्भावित क्षेत्रबारे पनि उल्लेख गरेको छ । ऊर्जा, मास्क, मेडिकल सामग्री र मेडिकल टिम पठाउनेसम्मको प्रतिबद्धता चीनबाट आएको छ । त्यस्तै भाइरसको संक्रमण घट्नेबित्तिकै नेपालले चाहे चिनियाँ पर्यटकहरूको आगमन पनि अरूभन्दा पहिले खुला गर्न तयार रहेको प्रतिबद्धता आएको छ ।

त्यस्तै नेपालको पूर्वाधार निर्माणको कामलाई पनि नेपालले चाहेको समयमा गति दिन तयार रहेको सूचना चीनले पठाएको छ । यस्तो गर्ने हो भने तुरुन्त माग होस्, हामी तत्पर छौं भनेर चिनियाँ पक्षबाट हामीलाई आश्वासन आएको छ उपप्रधानमन्त्री पोखरेलले मंगलबार कान्तिपुरसँग भने हामी पनि संक्रमण नफैलियोस् भनेर लागेका छौं र आवश्यक पर्ने सबै खालका सहयोग लिन्छौं ।

केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीबीच पनि कुराकानी भएको थियो । त्यस क्रममा पनि पनि सहयोग गर्ने विषयमा दुईपक्षीय कुराकानी भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले भने, सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँहरूको असल अभ्यासबाट कसरी सिक्ने भन्ने नै हो । दोस्रोचाहिँ हामीलाई आवश्यक पर्दा सामग्रीहरूमा सहयोग गर्ने कुराहरू हुन्, त्यसमा कुराकानी भइरहेको छ ।

चीनले कोरोनाबाट अत्यधिक प्रभावित इटाली र स्पेनमा मेडिकल टोलीसहित स्वास्थ्य सामग्री पठाएर सहयोग गरिरहेको छ । युरोपको सबैभन्दा प्रभावित मुलुक इटालीको राजधानी रोममा केही समयअघि चीनले विमान चार्टर गरेर नौ सदस्यीय मेडिकल टोली पठाएको थियो । चीनको राष्ट्रिय स्वास्थ्य आयोग र चीनकै रेडक्रस सोसाइटीले सात हजार भेन्टिलेटर र मोनिटरसहित अन्य स्वास्थ्य सामग्री इटालीलाई सहयोग गरेको छ ।

नेपालमा संक्रमण फैलिए अहिलेका अस्पतालमा रहेका भेन्टिलेटर र मेडिकल कीटलगायतको व्यापक अभाव हुने आकलन छ । त्यसैले त्यस्ता सामग्री खरिद प्रक्रिया र विदेशी सहयोगबाट समेत जोहो गर्ने सरकारी तयारी छ । त्यही तयारीअन्तर्गत चीनले गरेको सहयोगको प्रस्तावबाट सरकार उत्साहित छ । यसअघि चीनमा संक्रमण बढेका बेला नेपालले एक लाख थान मास्क पठाएको थियो । नेपालको उक्त सहयोगप्रति चीनका परराष्ट्रमन्त्री वाङ यीले पनि प्रशंसा र आभार व्यक्त गरेका थिए । अहिले नेपालमा जोखिम बढ्ने सक्ने अवस्थालाई मध्यनजर गरेर चीनले आफ्नोतर्फबाट पनि गुन तिर्न खोजेको हो ।

‘असल छिमेकीको हिसाबले हाम्रो क्षमताअनुसार हामी नेपाललाई सहयोग गर्न तयार छौं, चिनियाँ दूतावासका एक उच्च अधिकारीले भने, नेपालबाट के के कुरा चाहियो भन्ने प्रस्ताव पठाएपछि त्यसको आधारमा हामी सहयोग पठाउँछौं । ई कान्तिपुर बाट लिईएको ।

प्रकाशित मिति March 18, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस