सभामुख अग्नि सापकोटा पनि महराकै बाटोमा

काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटा पूर्वसभामुख कृष्णबहादुर महराकै पथमा हिँड्ने संकेत देखिएको छ । महरा सभामुख हुँदा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदनका लागि प्रक्रिया अघि बढाएका थिएनन् । उनले सो प्रस्ताव पिजन होलमा राखेका थिए । वतर्मान सभामुख सापकोटा पनि महराकै नीतिको पक्षमा देखिएका छन् ।

जसका कारण प्रधानमन्त्री केपी ओली निकै असन्तुष्ट बनेका थिए । प्रधानमन्त्री ओली एमसीसी जसरी पनि संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा छन् । तर, नेकपाका पूर्वमाओवादी समूहका नेताहरू कुनै पनि हालतमा जस्ताको तस्तै एमसीसी पारित गर्न नहुने भन्दै लबिङमा लागेका छन् । सत्तारुढ दल नेकपा नै एमसीसीको पक्ष र विपक्षमा बाँडिएपछि त्यो सम्झौता आठ महिनादेखि संसदमा अलपत्र परेको हो ।

गत असारमा संसद सचिवालयमा दर्ता भएको एमसीसी सम्झौतालाई संसदको कार्यसूची बनाइएको छैन । आफ्नो अधिकार क्षेत्रभित्र आइसकेको विषयमा सभामुख सापकोटाले अग्रसरता लिएर समझदारी खोज्ने प्रयाससमेत गरेका छैनन् । अर्थमन्त्री डा.युवराज खतिवडाले असार ३० गते एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गराएका थिए।

सरकारले संसदको जिम्मा लगाइसकेको विषय सभामुखले सबै संसदीय दलका पदाधिकारीसँगको परामर्शमा कार्यसूचीमा चढाउन सक्छन् । बाहिर जताततै बहस भइरहे पनि संसदको नेतृत्वले आधिकारिक थलोमा बहस नगराएको भन्दै सांसदहरूले संसदमै पनि असन्तुष्टि पोखेका छन् । नेकपामा अधिकांश सांसद र प्रमुख प्रतिपक्ष कांग्रेससहित अन्य दलका सांसद एमसीसी सम्झौता चाँडो पारित हुनुपर्ने पक्षमा छन् ।

प्रकाशित मिति March 15, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस