कोरोनाको कारणले एसइई परीक्षा सर्न सक्ने

काठमाडौं ।

चैत छ गतेबाट सुरु हुने भनिएको यस वर्षको एसइई परीक्षा सर्न सक्ने भएको छ । परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्न सक्ने भएको हो । आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका छन्। मन्त्री ढकालका अनुसार दुई तीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने वा नबनाउने टुंगो लाग्नेछ ।

उनले सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद पनि स्थगित भएको भन्दै सकेसम्म धेरै भीडभाड हुने कार्यक्रममा सहभागी नहुन आग्रह गरेका छन्। त्यस्तै सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएमा काठमाडौं उपत्यकाका ३ वटा अस्पतालमा उपचार गर्ने व्यवस्था गरेको छ ।आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सरकारले गरीरहेको तयारीबारे जानकारी दिँदै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएमा उपत्यकाका ३ वटा अस्पतालमा उपचार गर्ने व्यवस्था गरिएको जनकारी दिएका हुन् ।

मन्त्री ढकालले काठमाडौंमा रहेका तीन वटा अस्पताललाई कोरोनाको उपचारका लागि प्रयोग गर्ने तयारी भइरहेको बताए । भोली यो संक्रमण फैलिएको अवस्थामा सबै अस्पतालमा संक्रमित बिरामीलाई पठाउने भन्दा पनि मूलभुत रुपमा उपत्यका भित्रका ३ वटा अस्पतालमा केन्द्रित हुने र त्यसमा यो रोगका बिरामीको उपचार गर्ने कुरालाई प्राथमिकता दिने व्यवस्था गरेका छौं,’ मन्त्री ढकालले भने, ‘सरकारले पहिलो प्राथमिकता यो रोगलाई नेपाल भित्रिन प्रवेश हुन नदिने लक्ष्यका साथ उच्च सावधानी अपनाइ राखेका छौं ।

स्वास्थ्य मन्त्री ढकालले कोरोना भाइरसको संक्रमित व्यक्तिको उपचारका लागि देशभरका विभिन्न अस्पतालहरुमा गरी २ सय ३५ वटा आईसीयू व्यवस्थापनको तयारीमा समेत रहेको बताए ।काठमाडौं उपत्यका भित्र १ सय २० र काठमाडौं उपत्यका बाहिर १ सय १५ गरी २ सय ३५ वटा आईसीयूको व्यवस्थापनमा आफूहरु जुटेको मन्त्री ढकालको भनाइ छ ।

प्रकाशित मिति March 15, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस