कोरियामा नेपाली भन्छन: कोरोनाबाट सुरक्षित छौं परिवारलाई नअत्याउनुहोला सक्दो सियर गर्नुहोला

सँधैभरी हँसिलो देखिने विशाल मगर शनिबार कागती निचोरेजस्तो अनुहारमा हुनुहुन्थ्यो । अरुबेला दिनभरीको कामले खोस्न नसकेको विशालको अनुहारको चमक कोरोना भाइरसको त्रासले खोसेको हो । रोजगारीको लागि दक्षिण कोरियाको एक सिसा कम्पनीमा कार्यरत विशाललाई आफू सुरक्षित छु भन्नेमा विश्वास छ, तर कोरियामा कोरोनाको संक्रमण बढेको चर्चासँगै बागलुङमा रहेका परिवारमा बढेको चिन्ताले विशाललाई पनि चिन्ता थपेको छ ।

विशालले भन्नुभयो “यहाँ कोरोनाको संक्रमण फैलिएको खबर सुनेपछि घरबाट तत्काल नेपाल फर्कन दबाब आईरहेको छ ।” अहिले दक्षिण कोरियाको देगु प्रान्तमा कोरोनाको संक्रमण फैलिएको छ । देगुमै कार्यरत विशाल सञ्चारमाध्ययममा भएको चर्चाजस्तो आफूहरु असुरक्षित भए पनि खबरहरुले नेपालमा रहेका आफन्तलाई धेरै पीडा दिएको बताउनुहुन्छ ।

दक्षिण कोरियाको देगु प्रान्तमै काम गरिरहेका झापाका शंकर लिम्बु पनि सामाजिक सञ्जाल र सञ्चारमाध्यय ममा आएका खबरले घरमा रहेका आफन्त पीडामा परेको बताउनुहुन्छ । परिवारलाई आफूहरु ढुक्क भएको बताउने लिम्बु कम्पनीको घेराभित्र बस्दा भने उकुसमुकुस भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “दुई हप्ता भयो बाहिर ननिस्किएको, बिदाको दिन पनि कम्पनीले बाहिर जान अनुमति दिएको छैन ।

खानेकुरा अनलाइनबाट मगाएर खाईरहेका छौं, संक्रमणकै संकट आईनसकेको भए पनि कम्पनीमै बस्दाको पीडा भने भोग्नुपरेको छ ।” दक्षिण कोरियामा कोरोना भाइरसको कारण आइतबार सम्ममा ५ जनाले ज्यान गुमाएका छन् भने ५ सय ५६ जनामा संक्रमण भएको पुष्टि भएको दक्षिण कोरियन समाचार द कोरिया हेरल्डमा उल्लेख छ । त्यस्तै स्वास्थ्य उपमन्त्री किम गा लिपका अनुसार ६ हजार ३९ जनाले स्वास्थ्य

परीक्षण गराई रिपोर्ट कुरिरहेका छन् भने १८ जना उपचारपछि निको भई घर फर्किएका छन् । उपमन्त्री किमले कोरोना गम्भीर चरणमा प्रवेश गरेका भन्दै नागरिकहरुलाई सजग रहन अपील गर्नुभएको छ । तर अहिलेकै अवस्थामा कोरियामा रहेका नेपालीहरु आत्तिहाल्न नपर्ने कोरियामा रहेको नेपाली दूतावासका श्रम सहचारी डिल्लीराम बास्तोलाले बताउनुभयो । बास्तोला भन्नुहुन्छ “नेपाली काम गर्ने कम्पनीले सुरक्षाका उपाय अपनाएका छन ।

कोरियन सरकारले धार्मिकस्थल तथा भीडभाड हुने ठाउँमा नजान, अनिवार्य मास्कको प्रयोग गर्न, पञ्जा लगाउन, कुनै पनि काम गरिसकेपछि साबुन पानीले हात धुन, बाहिरबाट आएका मानिससँग हात नमिलाउन भनेको छ । अहिले सरकारले काम गर्ने कम्पनी होस् या विद्यालय लगायत हरेक कार्यालयमा सुरक्षित हुनका लागि विभिन्न कक्षाहरु पनि सञ्चालन गरिंदैछ ।

सार्वजनिक यातायात चढ्दा र झर्दा केमिकलले अनिवार्य हात धुने व्यवस्था गरिएको छ । मोबाइलमार्फत सरकारले हरेक घण्टा सुरक्षित रहने उपायहरु पठाईरहेको छ । कोरिया नेपाल सम्पर्क समितिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ अहिलेसम्म नेपालीमा संक्रमण नदेखिनु राम्रो पक्ष भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “सचेत रहनुपर्छ र सचेत रहनको लागि हामी व्यक्ति र हामीले काम गर्ने कम्पनीले हर प्रयास गरिरहेका छौं ।

परिवारमा आतंक फैलाउने खालमा खबरहरु प्रकाशन नगरिदिनुहोला ।” कोरियामा बसेकाहरुको समूह तथा संघसंस्थाहरुले गर्ने भेटघाट तथा कार्यक्रमहरु तत्कालका लागि सबै स्थगित गर्न लगाएको पनि श्रेष्ठले बताउनुभयो । केही संचारमाध्ययमबाट परिवारमा चिन्ता बढाउने काम गरेको भन्दै कोरियामा रहेका सोलुखुम्बुका धर्मपुजन सुनुवार आफूहरु अहिले सचेत रहेको र समस्या आउने सम्भावना बढ्नसाथ नेपाली दूतावासलाई जानकारी गराउने बताउनुहुन्छ ।

सुनुवार भन्नुहुन्छ “कम्पनीभित्र निकै कडाई गरिएको छ, दैनिक जीवन समस्यामा भए पनि संक्रमणको डर अहिले नै छैन । उदयपुरबाट कोरिया आएका कुमार भुजेल पनि सामाजिक सञ्जालमा धेरै नकरात्मक चर्चा हुँदा परिवारमा चिन्ता बढेको र त्यसको असर आफूहरुमा पनि बढेको बताउनुहुन्छ । दक्षिण कोरियामा कोरोनाको संक्रमण फैलन थालेको सत्य हो । संक्रमितको संख्या बढिरहेको छ । यो भाइरसले निकै दुःख दिन्छ भन्ने आँकलन कोरियन सरकारले पनि गरेको छ ।

सँगै सुरक्षाको लागि पनि धेरै काम भैरहेका छन् । विदेशी कामदारहरु रहेको कम्पनीमा सुरक्षाका उपायहरु उच्च बनाइएको छ । कोरिया सरकार तथा मातहतका विभिन्न संघसंस्था सुरक्षाका उपायबारे सचेतना तथा अरु सहयोगका लागि सक्रिय भएका छन् । (हाल कोरियामा कार्यरत सोलुखुम्बुका जोकराज कुलुङ नेपालमा हुँदा पत्रकारिता गर्नुहुन्थ्यो ।)

प्रकाशित मिति February 23, 2020

हामीलाई फेशबुकमा लाइक गर्नुहोस